राष्ट्रिय सभा निर्वाचनमा नेकपाको क्लिन स्विप, कांग्रेस जित विहीन

काठमाडौं, ९ माघ । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले क्लिन स्विप गरेको छ । राष्ट्रिय सभामा नेकपाले उठाएका सबै उम्मेदवार विजयी भएका छन् ।

प्रदेश २ मा राजपासँग २/२ सिट भागबण्डा गर्दै चुनावमा होमिएको नेकपाले अन्य प्रदेशमा भने एकल उम्मेदवारी दिएको थियो । नेकपाले चुनावमा उठाएका १६ जना उम्मेदवार नै विजयी भएका हुन् ।

जितसँगै राष्ट्रिय सभा सदस्यको सख्या ५० पुगेको छ । १८ सदस्य निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एक्लैले १६ सिट जितेपछि सिट सख्या ५० पुगेको हो ।

निर्वाचनबाट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने जितविहीन अवस्था पुगेको छ । यो जितसँगै फागुनबाट राष्ट्रिय सभामा नेकपा एक्लैको ५० सदस्य पुगेको हो ।

यो कुल सदस्यको ८४ प्रतिशत पनि हो । राष्ट्रिय सभा सदस्यमा रहेका ५९ सदस्यमध्ये अब कांग्रेसको ६ सदस्य र राजपाका दुई सदस्य रहेका छन् ।

यसअघि पहिलो पटक भएको निर्वाचनमा तत्कालीन एमालेबाट २७, माओवादी केन्द्रबाट १२, नेपाली कांग्रेसबाट १३, तत्कालीन संघीय समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनता पार्टीबाट २ जना निर्वाचित भएका थिए । यसैगरी सरकारको सिफारिसमा राष्ट्रपतिले तीन जना मनोनित गरेकी थिइन् ।

नेकपाले प्रदेश–२ मा कडा चुनौती सामना गर्नुपरेपनि अन्य प्रदेशमा भने सहज जित निकालेको छ । प्रदेश–२ मा भने मतभार कम भएको थियो । नेकपा र राजपाबीच पहिलो पटक गठबन्धन भएकाले त्यो सकारात्मक बन्ने वा नभन्ने चासोका बीच दुवै दलका उम्मेदवार विजयी भएका हुन् ।

मतपरिणामअनुसार महिला कलस्टरतर्फ नेकपाकी तुलसा दाहाल, दलित क्लस्टरतर्फ नेकपाका राधेश्याम पासवान र अन्य समूहबाट राजपाका मृगेन्द्र सिंह यादव, अल्पसंख्यक समूहबाट राजपाका शेखरकुमार सिंह विजयी भए ।

यसैगरी नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ पनि राष्ट्रिय सभामा प्रवेश गरेका छन् ।। गण्डकी प्रदेशको अन्यबाट उम्मेदवार बन्नु भएका श्रेष्ठ र महिलातर्फबाट भगवती न्यौपाने विजयी भईन् ।

प्रदेश–१ बाट नेकपाका उम्मेदवारहरू गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भए । बागतमी प्रदेशबाट नेकपाका दुवै उम्मेदवार डा।वेदुराम भुसाल र गंगाकुमारी बेलबासेले सहज जित निकाले ।

प्रदेश–५ मा नेकपाका अपांग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट बिमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भए ।

यसैगरी कर्णाली प्रदेशमा नेकपा उम्मेदवार सुमित्रा विसी र मायाप्रसाद शर्मा विजयी बने । सुदूरपश्चिम प्रदेशबाट पनि नेकपा शारदा भट्ट र तारमान स्वाँर विजयी बन्नु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here