‘सरकारी कर्मचारीले छोराछोरी सरकारी स्कुलमै भर्ना गर्नुपर्छ’

दिपायल, ११ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल सरकारका कर्मचारीले आफ्ना छोराछोरी अनिर्वाय रुपमा सरकारी विद्यालयमा भर्ना गरी पढाउनुपर्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले दिपायल सिलगढी नगरपालिका–४ बागनेटीमा निर्माण गर्न लागेको निजामती कर्मचारी विद्यालयको शनिबार शिलान्यास गर्दै उनले सरकारी जागिर खाएका कर्मचारीले आफ्ना छोराछोरी निजी बोर्डिङमा पढाउने परिपाटी चलेको उल्लेख गरे ।

उनले सुदूरपश्चिम भरमा निजी स्कुलमा छोराछोरी पढाउने उच्च तहका कर्मचारीको तत्थ्याङ्क सङ्कलनको तयारीसमेत भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री भट्टले छाउपडी प्रथाको अन्त्य गर्न जरुरी भएको र सो प्रथा हटाउन सबैले लाग्नुपर्नेमा जोड दिए । “छाउ बार्ने र बार्न लगाउनेलाई सामुहिक वहिस्कार गर्नुपर्छ, कु–सस्कार मान्नेलाई सामुहिक वहिस्कार गरौँ,” उनले भने ।

उनले प्रदेश सरकारले जनताका आवश्यकता सम्वोधन हुने गरि काम गरिरहेको दाबीसमेत गरे ।

सङ्घीयताले विकासको ढोका खोलेकोले प्रदेश सरकारबाट सञ्चालन भइरहेका योजना तथा विकासका बारेमा सबै सचेत नागरिकले अनुगमन गर्नुपर्ने बताए ।

दुई तले, छ कोठामा निर्माण हुनलागेको उक्त निजामती स्कुलको लागत रकम रु दुई करोड ३९ लाख ३३९.९० रहेको र निर्माणको समयावधी आगामी २०७८ साल पुस मसान्तसम्म सम्पन्न गरिसक्ने सम्झौता भएको निर्माणको जिम्मा पाएका केठेदार नरेश शाहले बताए ।

उक्त स्कुलका लागि १०० रोपनी जमिन खरिद गरिएको र रु ७५ देखि ८० करोडको लगानीमा क्रमिकरुपमा आगामी वर्षमा पनि नयाँ स्कुल भवन, आवास गृह, खेलकुद मैदान र स्वीमङ पुललगायका संरचना निर्माण गरिने योजना रहेको मुख्यमन्त्रीका स्वकीय सचिब शिवसिंह ओलीले जानकारी दिए ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here