कोरोना प्रकोप : मृतकको संख्या ३ सय ४ पुग्यो, १४ हजार संक्रमित

काठमाडौं, १९ माघ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ ।

चीनका अधिकारीहरुको अनुसार यसबाट चीनमा १४ हजार संक्रमित भएका छन् ।

दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ।

वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ। हुबेइ प्रान्तमा नोवेल कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।

अमेरिका र अस्ट्रेलियाले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै पछिल्लो दुई हप्ता चीन भ्रमणमा गएका विदेशी नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् ।

शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै एक हजार ९ सय २१ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनले आफ्नो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार पुगेको बताएको छ तर हङकङ विश्वविद्यालयले गरेको अध्ययनअनुसार हुबेईमा मात्र ७५ हजार सङ्क्रमित रहेको प्रतिवेदन शनिबार सार्वजनिक भएको थियो ।

चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल, अमेरिका, अस्ट्रेलियासहितका देशमा गरी कम्तिमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण युरोप सहित १६ बटा देशमा पुगेको छ ।

चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन।

हङकङका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको खोप आविष्कार गरेको बताएका छन्। यद्यपि यसलाई परीक्षण गर्न केही समय लाग्ने उनीहरुको भनाइ छ।

सरुवा रोग विशेषज्ञ प्राध्यापक युन कोक युङले आफ्नो अनुसन्धान टोलीले खोप विकास गरेको बताएका हुन्।

के हो कोरोना भाइरस ?

संक्रमित व्यक्तिको स्याम्पलको परीक्षण प्रयोगशालामा गरिएको थियो । उक्त परीक्षण पश्चात चीनका स्वास्थ्य कर्मचारी र डब्ल्यूएचओले यो भाइरसको नाम कोरोना बताइएको थियो ।

नयाँ भाइरसको विश्लेषणपछि यो कुरा पत्ता लाग्यो कि अन्य कोरोना भाइरसको तुलनामा ‘सार्स’ को संक्रमण गर्ने क्षमता धेरै हुन्छ ।

सार्स नामको कोरोना भाइरसलाई सबैभन्दा खतरनाक मानिन्छ । सोर्सको कारण चीनमा सन् २००२ मा ८ हजार ९८ जना संक्रमित भएका थिए, जसमध्ये ७ सय ७४ जनाको मृत्यु पनि भयो ।

यी हुन् कोरोना भाइरसको लक्षण

— टाउको दुख्नु
— रुघा
— खोकी
— घाँटीमा दुख्नु
— ज्वरो
— अस्वस्थ भएको अनुभव
— सामान्य अवस्थामा भन्दा धेरै थकाई लाग्नु
— निमोनिया, फोक्सोमा समस्या

कसरी बच्ने यो भाइरसबाट ?

यो संक्रमणबाट बच्नको लागि डब्ल्यूएचओ ले पनि विभिन्न प्रकारका उपायहरु बताएको छ । जुन निम्नानुसार छन्ः

—नियमित रुपमा हात सफा गर्ने

— खोक्दा वा हाच्छिउँ गर्दा मुख तथा नाक छोप्ने

— मासु तथा अण्डा राम्ररी पकाएर खाने

— कोरोना लक्षण लागेको शंका लागेमा मानिसहरुबाट टाढा बस्ने र जतिसक्यो छिटो अस्पताल जाने आदी ।

कति गम्भीर छ यो भाइरस ?

कोरोना भाइरसको कारण संक्रमणमा परेका मानिसहरुमा पहिले रुघा, खोकी, ज्वरो जस्ता समस्याहरु देखिएपनि संक्रमणको मात्रा बढ्दै जादाँ मानिसको मृत्यु समेत हुन्छ ।

कहाँबाट आयो यो भाइरस ?

यो भाइरस अन्य भाइरसभन्दा फरक प्रजातीको छ । यो एक जीवबाट अर्को जीवमा प्रवेश गर्छ र मानिसहरुमा संक्रमण गर्छ । सुरुमा मानिसहरुलाई केही थाहाँ हुदैन् ।

यो भन्दाअघि सार्स नामको भाइरस बिरालो प्रजातिको एक जीवबाट मानिसमा आएको आएको थियो । तर, चीनले यो भाइरसको मुल स्रोतको बारेमा कुनै जानकारी दिएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here