डिसहोमलाई इन्टरनेट सेवा विस्तारको अनुमति

काठमाडौं, २६ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले डिसहोमलाई इन्टरनेट सेवा विस्तार गर्ने अनुमति दिएको छ ।

नेपाल दूर सञ्चार प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले डिसहोमलाई इन्टरनेट सेवा प्रदायकको अनुमति दिने निर्णय गरेको हो।

प्राधिकरणमा अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिएको तीन महिना पछि अनुमति पाएको प्राधिकरणले जनाएको छ । डिसहोमले भिस्याट प्रविधिमार्फत टेलिभिजन सेवा सञ्चालन गरिरहेको छ ।

कम्पनीले करिब ३० करोड लागतमा भिस्याट प्रविधिबाट दुर्गम जिल्लामा इन्टरनेट सेवा सुचारु गर्ने भन्दै आइएसपीको अनुमति लिएको हो।

हाल ललितपुरको भैंसेपाटी क्षेत्रमा इन्टरनेट सेवाको परीक्षण समेत सुरू गरिसकेको छ। कम्पनीले फेसबुक र युट्युबमार्फत इन्टरनेट सेवा दिने नयाँ योजनाको प्रचारप्रसार गर्दै आएको थियो।

भिस्याट सञ्चालन गर्न नेपालको आफ्नै स्याटलाइट छैन। कम्पनीले इजरायलको स्याटलाइट ‘आमोस’ प्रयोग गरेर टेलिभिजन च्यानलहरूको प्रसारण गरिरहेको छ।

डिस मिडिया नेटवर्कअन्तर्गतको डिसहोम सञ्चालनमा आएको १० वर्षपछि कम्पनी इन्टरनेट सेवा सञ्चालनका लागि कसिएको छ । पैसा तिरेर सेवा लिन सकिने डिस होम नेपालले नेपालको ‘पे टिभी’ उद्योगका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालमा सेवा दिइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here