दामनको एभरेष्ट पानोरामा रिसोर्ट निलम्बनमा

काठमाडौं, २८ माघ । पर्यटन मन्त्रालयले मकवानपुरको थाहा नगरपालिका दामनको एभरेष्ट पानारोमा रिसोर्टलाई कारबाही गरेको छ ।

आठ जना भारतीय पर्यटकको ज्यान जाने गरी भएको घटनापछि मन्त्रालयले उक्त रिसोर्ट तीन महिनाका लागि बन्द गराएको हो ।

माघ २६ गतेको सचिवस्तरीय निर्णयअनुसार उक्त रिसोर्टको स्तर वर्गीकरण नभएको, पर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोर रहेकाले तीन महिना निलम्बन गरिएको जनाएको छ।

माघ ६ गते त्यहाँ बास बसेका आठ जना भारतीय पर्यटकको निसास्सिएर मृत्यु भएको थियो।

एभरेष्ट पानोरामा रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटक निसास्सिएर मृत्यु भएको घटनालाई लिएर पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

पर्यटन ऐन २०३५ अनुसार होटल, लज, रेस्टुरेन्ट, रिसोर्ट तथा बार नियमावलीअनुसार वर्गीकरण, मापदण्डअनुसार प्रारम्भिक वातावरणीय परीक्षण, वातावरण प्रभाव मूल्यांकनसमेत सम्पन्न गराएर रिसोर्ट सञ्चालन गर्न निर्देशन दिइएको छ।

२०७० चैतबाट फच्र्युना इन्टरनेशनल कम्पनीले संचालन गरेको उक्त रिसोर्टले पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पर्यटन विभागबाट तोकिए बमोजिम स्तर वर्गीकरण समेत नगराएको, रिसोर्ट संचालनको क्रममा पर्याप्त सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी पाइएको निलम्बनपत्रमा उल्लेख छ।

पर्यटकको मृत्यु भएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानबिन गर्न समिति गठन गरी घटनाको अनुसन्धान गराएका थिए ।

अबको तीन महीनापछि रिसोर्ट संचालन प्रक्रिया पुर्‍याएर मात्र संचालन गर्न निलम्बन पत्रमा भनिएको छ।

मकवानपुरको दामनस्थित पानोरमा रिसोर्टको कोठा नम्बर १०१ मा बेहोस अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो । अस्पताल ल्याउने वित्तिकै चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा ३९ वर्षीय प्रविन कृष्ण नायर, उनकी श्रीमती ३४ वर्षीया शरजया नायर, ४ वर्षीया छोरी भद्र, ६ वर्षीया अर्की छोरी अर्चा र छोरा अभिनव रहेका थिए । त्यसैगरी अर्को परिवारका ३९ वर्षीय रञ्जित कुमार, उनकी श्रीमती ३१ वर्षीया इन्दु रञ्जित, दुई वर्षीय छोरा वैष्णभ रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here