रोबोटमार्फत दीप प्रज्वलन गर्दै सूचना प्रविधिको कुम्भ मेला उद्घाटन

काठमाडौं, २ फागुन । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक शुक्रबारदेखि शुरु भएको छ ।

भृकुटीमण्डपमा आयोजित सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी प्रदर्शनी तथा सम्मेलनको २६ औं संस्करणको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकल बाँस्कोटाले उद्घाटन गरे ।

प्रमुख अतिथि बाँस्कोटाले मोबाइलमा बटन थिच्दै रोबोट मार्फत दीप प्रज्वलन गरेर प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा रहेका सम्पूर्ण हल तथा परिसरका सुविधायुक्त ट्रसमा अन्तर्राष्ट्रियस्तरमा प्रचलित नेपालमा उपलब्ध अधिकांश ब्राण्डका साथै सूचना तथा सञ्चार प्रविधिका विभिन्न क्षेत्रहरु हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स रहने छन् ।

त्यस्तै मोबाइल तथा मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युहरु, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स, स्टार्टअप र इन्नोभेसनका तथा कम्प्युटिङ डिभाइसहरुसँग सम्बन्धित कम्पनी, अफिसियलहरु, प्रायोजकहरु र फुड कोर्टसहित १८१ स्टल रहेका छन् ।

सूचनाप्रविधि तथा इञ्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई ब्यबसायमा बदल्न मद्दत गर्नु र व्यबहार उपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य रहेको महासंघको दाबी छ ।

इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनी का साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा पनि आयोजना गरिने छ जसमा हरेक प्रतिस्पर्धाका विजेताले आकर्षक पुरस्कार पाउने छन् । यसका लागि बेग्लै विशेष पेभिलियनको व्यवस्था गरिने योजना रहेको पनि महासंघले बताएको छ ।

रोबोट र ड्रोनबाट गरिने प्रदर्शनीको उद्घाटन पनि सूचनाप्रविधि मेलाको विशेष आकर्षण रहने छ ।

विशेष आकर्षणको रुपमा गेमिङ जोन

यस पटकको क्यान इन्फोटेकमा विशेष आकर्षणको रुपमा गेमिङ जोन पनि रहने छ । सो अवसरमा गेमिङ्ग पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर ई–स्पोर्टस् च्याम्पियनसीप प्रतियोगिता आयोजना गर्ने छ ।

जसमा डोटा टु तथा सीएस गो जस्ता टीम वर्क आवश्यक पर्ने लोकप्रिय खेल खेलिने छन् । दुवै प्रतियोगिता नकआउट शैलीमा खेलिने छन् भने उत्कृष्ट ८ टीमले इन्फोटेकमा हुने प्रतिस्पर्धामा भाग लिन पाउने छन् । साथै बिजेताहरुले प्रमाणपत्र सहित रु. १ लाख नगद पुरस्कार पनि प्राप्त गर्ने छन् ।

यस पटकको क्यान इन्फोटेकमा विभिन्न अन्तरराष्ट्रिय मोबाइल कम्पनीहरुले आफ्ना ब्राण्ड तथा उत्पादनको प्रदर्शनी तथा आकर्षक छुटमा बिक्री समेत गर्नेछन् ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु पनि प्रदर्शनीमा राखिने छन् ।

दर्शनीमा प्रभु पे, वर्ल्डलिंक र भायानेटले बिशेष आकर्षक योजनाहरु सार्बजनिक गर्दै छन भने एनसेल ले आकर्षक प्याकेज सहित निशुल्क सिमकार्ड र सुबिधाहरु उपलब्ध गराउने छ । स्मार्ट सेलले ९९ रुपैया पर्ने सिम कार्ड र त्यसमा ९० रुपैयाको रिचार्ज, २०० एम.बी डाटा, १० वोटा एसएमयस निशुल्क उपलब्ध गराउने छ ।

क्यान इन्फोटेकको यो संस्करणको प्रबेश शुल्क रु. १०० राखिएको छ, बिधार्थीहरुले ५० प्रतिशत छुट पाउने छन्र भने, सामुदायिक तथा सरकारी विद्यालय र कलेजका बिधार्थीहरु, संचारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्तिहरुले निशुल्क प्रवेश पाउन सक्नेछन। यसैगरि, फाल्गुन ५ गतेलाई “बिजनेस डे” तोकिएको छ ।

क्यान इन्फोटेक २०२० को टिकटलाई पेपरलेस बनाइएको छ । अवलोकनकर्ताले प्रभु पेबाटै टिकट किन्न सक्ने छन् भने प्रदर्शनीस्थलमा पनि किओस्क मेशिनबाट टिकट लिन सकिने छ । यसले प्रदर्शनी अवलोकन गर्न चाहने व्यक्तिहरुले इन्फोटेक प्रवेशमा लाग्ने समयको बचत गर्नसक्ने छन् । शुक्रवादेखि सुरु हुने मेला फागुन ७ गतेसम्म सञ्चालन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here