मदानेको लेकमा प्याराग्लाइडिङ, तम्घास-सिमलटारी-अग्लुङ पक्की सडकले जोडिँदै

१७ फागुन, गुल्मी । करीव २०५०\५१ सालमै सडक संजालमा जोडिएर लामो समयसम्म गति लिन नसकेको गुल्मीको पश्चिमी भेगमा पछिल्लो समय विकासका गतिविधि बिस्तार हुन थालेका छन् ।

एक वर्ष अगाडी मात्रै सिमलटारीसम्म पक्की सडक बिस्तार भएको यस भेगमा हालै एक अत्याधुनिक पर्यटकीय प्रडक्ट प्याराग्लाइडिङको सम्भाब्यता अध्ययन तथा परीक्षण सफल भएको छ ।

यसैसाता, मदाने गाउँपालिकास्थित वडा नं २ बाँझकटेरीस्थित कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण सम्पन्न भएको छ । स्काई बर्ड प्याराग्लाइडिङ पोखराबाट गएको टोलीले बुधबार तीनवटा प्याराग्लाइडिङ यहाँ उडाएको छ ।

कम्पनीका अनुसार परीक्षण उडान सफल भएको छ । उक्त अवसरमा पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले प्याराग्लाइडिङ पाइलटहरुलाई स्वागत गरेका थिए ।

मदाने गाउँपालिकाले होलबाङ प्याराग्लाइडिङ सम्भाव्यता अध्ययन गर्न भनी चालु आर्थिक वर्ष २०७६/७७ मै दुई लाख रूपैयाँ छुट्याएको थियो ।

२१५० मिटर अग्लो डाँडाबाट गरिएको परीक्षण सफल भएको र यस भेगमा निकै राम्रो सम्भावना देखिएको कम्पनीले जानकारी दिएको छ ।

प्याराग्लाइडिङ पोखराबाट शुरु भएको छ । सरांकोटबाट चराजस्तै उड्न सकिने यो खेलमा युवायुवतीको विशेष आकर्षण रहेको छ । उक्त अवसरमा सांसद विष्टले यस भेगको विकासमा सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले अग्लुङबाट कसुरेहुँदै सिमलटारीसम्म पुग्ने सडकको समेत स्तरवृद्धि र कालोपत्रेको काम अगाडि बढेको जानकारी गराएका छन् ।

यसले सहजै यात्रुलाई यस भेगमा तान्ने विश्वास लिइएको उनले बताए । गुल्मीमा रुरु र रेसुंगा चर्चित धार्मिक तथा पर्यटकीय स्थल हुन् ।

तर, सम्भावना बोकेर पनि धेरै स्थान भने उचित प्रचार प्रसारको अभावमा पछाडी परेका छन् । तम्घासदेखि सिमलटारी जाने बाटो मै पर्ने विचित्र गुफाले समेत यहाँ पर्यटक आकर्षित गर्ने विश्वास स्थानीयको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here