काठमाडौं । साताको पहिलो दिन शेयर बजारको कारोबारमा फेरी नयाँ रेकर्ड भएको छ ।
यसअघि गत फागुन १५ गते कुल ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आइतवार १ सय ८३ कम्पनीको १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता शेयर ३९ हजार २ सय ८९ पटक किनबेच हुँदा ४ अर्ब ८४ करोड ७४ लाखको कारोबार भयो ।
यो रकम शेयर बजारको इतिहासमै सबैभन्दा धेरै भएको कारोबार हो ।
आइतवार नेप्से परिसूचक भने झण्डै ४१ अंकले घट्यो । आज नेप्से परिसूचक ४०.८२ अंकले घटेर १ हजार ५ सय ९१.३६ अंकमा झरेको छ । यो कारोबार भएको अघिल्लो दिनको तुलनामा २.५० प्रतिशत कम हो ।
त्यस्तै, आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आइतवार सेन्सेटिभ इन्डेक्स ७.०४ अंकले घटेर ३ सय ४०.६४ अंकमा झरेको छ ।
आइतवार फाइनान्स बाहेक अन्य सबै समुहको सूचक घट्यो । फाइनान्सको सूचक ०.०६ प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समुहको सूचक घट्यो । उत्पादन तथा प्रशोधनको ५.२१ प्रतिशत घट्यो । त्यस्तै, जीवन बिमाको ४.८७ प्रतिशत, निर्जीवन बिमाको ४.३८ प्रतिशत घट्यो भने अन्य समुहको पनि राम्रै अंकले घट्यो ।
आइतवार सबैभन्दा धेरै मितेरी विकास बैंकका शेयर धनीले कमाए । मितेरीको शेयर मूल्य ९.९० प्रतिशत बढ्यो । त्यस्तै, मञ्जुश्री फाइनान्सको ९.८८ प्रतिशत बढ्यो ।
सबैभन्दा धेरै गुमाउनेमा बोटल्स नेपालका शेयर धनीले कमाए । बोटल्स नेपालको शेयर मूल्य ९.९९ प्रतिशत घट्यो । त्यस्तै, स्वाभिमान लघुवित्त वत्तिय संस्थाको ८.८९ प्रतिशत घट्यो ।
आइतवार सबैभन्दा धेरै कारोबार एनएमबी बैंकले गर्यो । बैंकले २६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।