दैनिक तीन हजार चालक कारबाही, कागजपत्र लिन नयाँ व्यवस्था

काठमाडौं, २२ फागुन । काठमाडौं उपत्यकामा दैनिक २५ सयदेखि तीन हजार चालक ट्राफिक कारबाहीमा पर्ने गरेका छन् । ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेहरू कारबाहीमा पर्ने गरेका छन् ।

ट्राफिकको आँखा छलेर लेन मिच्ने, तीव्र गतिमा हाँक्ने बढिमात्रामा कारबाही पर्ने गरेको महाशाखाले जनाएको छ । यसरी कारबाहीमा परेकाले सहजै रुपमा कागजपत्र पाउने व्यवस्थाको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिमैत्री बनाई उपत्यकाको थप ३ कार्यालयहरूमा सेवा विस्तार गरेको छ ।

सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै महानगरीय ट्राफिक महाशाखाले यस्तो व्यवस्था गरेको हो । फागुन २० गतेदेखि लागू हुने गरी महाशाखा मातहत महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी बृत्त,नयाँ बसपार्क तथा महानगरीय ट्राफिक प्रहरी प्रभाग, गौशालामा समेत सञ्चालन गरिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार ट्राफिक कारवाहीलाई तीब्र रुपमा कार्यान्वयन गरिएको कारण कारवाहीको लागि खिचिएका कागजपत्रहरु फिर्ता लिने सेवाग्राहीहरुको चाप बढेपछि यस्तो व्यवस्था गरिएको हो।

उनका अनुसार दिनानुदिन चाप बढदै गएकोले सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता प्राप्त गर्ने कार्यमा सहजता एवं सरलता प्रदान गर्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको हो।

भक्तपुरभित्र कारवाहीको लागि खिचिएका कागजपत्रहरु भक्तपुर, चुनदेवीस्थित ट्राफिक प्रहरी कार्यालयबाट, नयाँ बसपार्क एरियाका कारवाहीको लागि खिचिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी कायालयबाट फिर्ता लिन सकिने व्यवस्था मिलाइएको छ। त्यस्तै गौशाला तथा एयरपोर्ट एरियामा कारवाहीको लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी कार्यालय गौशालाबाट लिन सकिने छ।

महाराजगञ्ज, थापाथली, कालिमाटी, कलंकी, सातदोबाटो, दरवारमार्ग, बौद्ध र कोटेश्वर पहिलेदेखि नै सञ्चालनमा रहेको छ। महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार मापसे र लेन कारवाहीमा परेका कागजपत्रहरू भने महाशाखाबाट सचेतना कक्षा पश्चात महाशाखाबाटै लिन सकिने छ।

ट्राफिक नियम उल्लंघन गरेबापतको कसुरमा कारबाहीका लागि खिचिएका कागजपत्रहरूको अभिलेख व्यवस्थापनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले ‘ट्राफिक भाइलेसन रेकर्ड सिस्टम’ लागु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here