रेडियो नेपालको प्रसारण पहुँच सबै क्षेत्रमा प्रभावकारी रुपमा पुर्याउनुपर्छः सञ्चार मन्त्री डा. खतिवडा

काठमाडौं, फागुन २३ । अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पुर्याउने गरी योजना बनाउन निर्देशन दिएका छन् ।

मन्त्री डा. खतिवडाले आज सिंहदरवारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरिक्षणका क्रममा रेडियो नेपालको आधुनिकिकरणको प्रयास सकारात्मक रहेको बताए ।

उनले प्रशारणको नियमित अनुगमन गरी समय अनुरुप परिमार्जन गर्दै देशैभर सुनिने रेडियो प्रशारण सेवालाई प्रभावकारी बनाउँन निर्देशन दिए ।

उनले रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थानलगायतका राज्यका संचार माध्यम बीचको अनतरसम्बन्ध बलियो हुनुपर्नेमा जोड समेत दिए ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री समक्ष रेडियो नेपालले गरिरहेका कामकारवाही र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

त्यस अवसरमा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष समेत रहेका सञ्चार मन्त्रालयका सचिव दिपक सुबेदीसहित मन्त्रालयका पदाधिकारीहरु पनि सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here