आवको ९ महिनापछि नेपाल भ्रमण वर्ष २०२० को बजेट स्वीकृत

काठमाडौं, २७ चैत । आर्थिक वर्ष २०७५÷७६ को ९ महिना सकिएको छ । अब ३ महिना मात्र बाँकि रहेको अवस्थामा बुधबार मात्र नेपाल भ्रमण वर्ष २०२० को बजेट स्वीकृत भएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मूल आयोजक समिति बैठकले बजेट तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको समितिका सदस्य सचिव तथा नेपाल पर्यटन बोर्डका सीइओ दीपक राज जोशीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा समितिको तेस्रो बैठक बुधबार बसेको हो ।

बैठकले हेलिकोप्टर दूर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी, राष्ट्रसेवक कर्मचारी तथा पाइलटको निधनप्रति श्रद्धान्जली व्यक्त गर्ने निर्णय गरेको जोशीले बताए । पर्यटन मन्त्री अधिकारी नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिका संयोजक थिए ।

बैठकले नेपाल भ्रमण वर्षको २०७५÷७६ को स्वीकृत बजेट तथा कार्यक्रममा आवश्यकताअनुसार १० प्रतिशत सम्म रकमान्तर गर्न राष्ट्रिय कार्यक्रम संयोजकलाई र थप १५ प्रतिशत सम्म रकमान्तर गर्न कार्यक्रम कार्यान्वयन उपसमितिलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।

सबै सरकारी निकायमा वेवसाइटमा भ्रमण वर्षको लोगो
बैठकले सबै सरकारी कार्यालयका वेवसाइटमा नेपाल भ्रमण वर्षको लोगो लाग्ने निर्णय समेत गरेको छ । सार्वजनिक निकायले गर्ने पत्राचारमा समेत नेपाल भ्रमण वर्षको लोगो प्रयोग गरिने समितिले जानकारी दिएको छ । यस्तो अभियान २०७७ साल अवधिभरसम्म जारी राख्ने निर्णय बैठकले गरेको हो ।

बैठकले  नेपाल भ्रमण वर्ष २०२० लाई उत्साहका साथ प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रदेश सरकार तथा स्थानीय तहहरुमा समेत प्रचार प्रसार लगायतका कार्यक्रम समन्वयात्मक रुपमा गर्ने निर्णय गरेको छ । सरकारले वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो । पर्यटन मन्त्री अधिकारीको निधन पछि भने यो अभियान सुस्ताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here