कोरोना त्रासले ‘फिक्का’ बनाईदियो होलीको रंग

जितेन्द्र खनाल

काठमाडौं, २६ फागुन । यो वर्षको होली कोरोना त्रासले फिक्का बनाईदिएको छ । हरेक वर्ष होलीको दिन पाइला टेक्नसम्मको ठाउँ नहुने वसन्तपुर यो वर्ष सुनसान देखिन्छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा यसको असर होलीमा वसन्तपुर लगायत देशको विभिन्न ठाँउमा देखिएको छ ।

हरेक वर्ष काठमाडौंको प्राय सबै चोकमा एक हप्ता अघि नै आउने होलीको रौनक यो वर्ष भने होलीकै दिनपनि आएन । अघिल्ला वर्षमा भरिभराउ देखिने न्यूरोड, कालिमाटीका सडक सोमवार विहान सुनसान देखिन्थे ।

गृह मन्त्रालयले भिडभाड भएको स्थानमा नजानुका साथै यो वर्ष होली नमाउनको लागि समेत गरेको थियो । र यसको प्रभाव स्वरुप वसन्तपुर सुनसन देखिएको हो ।

यस पटक मानिसहरु होली मनाउने ‘मुड’ मै देखिएनन् । विगतका वर्षमा मदिरा कम्पनीको प्रायोजनमा युवा लक्षित होली कार्यक्रम गर्नेहरु पनि यसपालि थन्किएका छन्। तारे होटलले होली कार्यक्रम राखेका छैनन्। स्कुल–कलेजले पनि यसपालि होली मनाएनन्।

कोरोनाको त्रासले बजारमा पनि चहलपहल घटेको छ। होलीको बिहानै देखि नै भीडभाड हुने न्यूरोड तथा असन क्षेत्रमा चहलपहल देखिदैन् । पिचकारी, लोला बनाउने प्लास्टिक तथा अबिरको व्यापार यसपालि निराशाजनक रहेको व्यापारीले बताएका छन्।

अन्य सामान किन्ने उपभोक्ता पनि घटेका छन्। पार्किङ पाउनै मुस्किल हुने न्युरोड, असन, पुतलीसडक, दरबारमार्ग क्षेत्रमा अहिले सहजै पार्किङ गर्न पाइन्छ।

फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। पौराणिक कथाअनुसार आगोबाट भष्म नहुने वरदान पाएकी होलिका दाह भएको घटनाको स्मरणमा खुसियाली मनाउने पर्व नै होली हो।

पुराण प्रसिद्ध दैत्यराज हिरण्यकश्यपुले भगवान हरिका भक्त आफ्नो छोरा प्रह्लादलाई नष्ट गर्न बहिनी होलिकाको काखमा राखेर अग्निकुण्डमा होम्छ। उक्त षड्यन्त्रमा वरदान पाएकी भए पनि होलिका आफैं जलेर नष्ट हुन्छे। प्रह्लादलाई केही हुँदैन।

असत्यमाथि सत्यको विजयलाई हर्षोल्लासपूर्वक मनाउने पर्व नै होली हो भन्ने मान्यता छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here