गर्मी महिनामा आँखालाई कसरी सुरक्षित राख्ने ?

गर्मी महिनाको आगमनसंगै आँखामा विभिन्न प्रकारका सङ्क्रमणको सम्भावना पनि त्यति नै बढी हुन्छ । गर्मीमा आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर हामीले त्रिपुरेश्वरस्थित कान्तिपूर आँखा क्लिनिकका विशेषज्ञ डा. शैलेस प्रधानसँग कुराकानी गरेका छौं ।

गर्मीमा आँखा सम्बन्धी कस्ता समस्याहरु देखा पर्ने गर्छ ?

खासगरी गर्मी महिनाहरुमा आँखा राता हुने, सुख्खा हुने, धुवाँ, धुलो, घामका विकिरणबाट हुने एलर्जीहरु आदि समस्याहरु बढि हुने गर्दछ । त्यस्ता प्रकारका एलर्जीहरु कन्ट्रोल नभएमा आँखा रातो हुने समस्याहरु बढ्दै जाने, जसको कारण नानीमा सङ्क्रमण हुने सम्भावना हुन्छ र त्यस्तो सङ्क्रमण बढ्दै जादा आँखा नै खराब हुन पनि सक्छ ।

यस्ता समस्याहरुबाट बच्न खानपानमा कस्तो प्रकारको  ध्यान दिनुपर्ला ?

गर्मी महिनाको आगमन संगै खानपानमा पनि धेरै ध्यान दिनुपर्दछ । खासगरी रसिलो र झोलिलो खानेकुराहरुको सेवन बढी मात्रामा गर्नुपर्दछ । हरियो सागपातहरुको प्रयोग बढी मात्रामा गर्ने, फलफुलहरुमा मेवा, गाँजर जस्ता धेरै भिटामिन युक्त खाने कुराहरु खनुपर्छ ।

साथै प्रसस्त मात्रामा पानी पिउनुपर्छ । बच्चाहरुको खानामा पनि धेरै मात्रामा सागपात र फलफुल समावेश गर्नुपर्छ । जंक फुडहरुको प्रयोग सकेसम्म गर्नुहुन्न । जंक फुडहरुले हाम्रो शरीरको पाचन प्रक्रियामा असर गर्नुका साथै आँखामा पनि धेरै प्रभाव पार्ने गर्छ ।

आजकाल मोबाईल र ल्यापटपको प्रयोग अत्याधिक मात्रामा हुने गरेको छ, यस्तो बानीले के कस्ता समस्याहरु निम्त्याउन सक्छ ?

मोबाईल, ल्यापटप, टिभी आदिको अत्याधिक प्रयोगले आँखामा  गम्भिर समस्याहरु निम्त्याउने गर्दछ । लामो समयसम्म निरन्तर यस्ता सामग्रीहरुको प्रयोग गरिरहदा आँखा सुख्खा हुने प्रमुख समस्या हुन्छ ।

साथै अहिलेको प्रमुख समस्याहरु अनलाइन गेमहरुको धेरै प्रयोग हुने गरेको छ । मोबाईल वा ल्यापटपमा घण्टौंसम्म एकै ठाउँमा बसेर गेमहरु खेल्दा यस्ता समस्याहरु देखा पर्दछन् ।

यस्तो बानीहरुलाई कसरी हटाउन वा कम गर्न सकिन्छ ? 

कुनैपनि बानिहरु एकैपटक हटाउन सम्भव हुदैन् । त्यसका लागि सकेसम्म आफ्नो धेरै समय बाहिरी क्रियाकलापहरुमा बिताउने बानीको विकास गर्ने, साथी वा परिवारसँग धेरैसमय बिताउने गर्नुपर्छ । यस्तो बानीले एक त मानिसको शरीरलाई फाइदा हुन्छ, अर्को मोबाईल, टिभी, ल्यापटपको कम प्रयोग हुने हुदाँ आँखामा पनि संक्रमण हुन पाउदैन ।

आँखा सम्बन्धित समस्याहरु कुन उमेर समुहका मानिसहरुमा धेरै हुने गरेको छ ?

खासगरी लगभग सबै उमेर समुहका मानिसहरु यस्तो समस्याहरुबाट ग्रसित हुनेगरेका छन् । तर, विशेष भने घरपरिवारबाट टाढा रहेका किशोर किशोरी नै ग्रसित छन् । किनभने, त्यस उमेर समुहका किशोर किशोरीहरु जंक फुडको प्रयोग धेरै मात्रामा गर्ने गर्दछन् ।

साथै, मेकअपको नाममा धेरै मात्रामा कस्मेटिक सामानहरुको प्रयोग गर्ने हुनाले पनि समस्या आउने गर्दछ । त्यसका साथै धेरै समय मोबाईल, ल्यापटप, टिभीमा धेरै समय बिताउने कारणले यस उमेरका युवायुवती ग्रसित छन् ।

आँखाको समस्याबाट बच्नको लागि यस्ता टिप्स अपनाउनुहोस्ः
गर्मी समयमा वा चर्को घाम लागेको समयमा सकेसम्म घाममा नहिड्ने

–यदि हिड्नै परेमा उपयुक्त र राम्रो ब्राण्डमा चस्माहरुको प्रयोग गर्ने

–सफा पानीले समय समयमा आँखा सफा गरिरहने –कम्तिमा पनि ८ घण्टा सुत्ने, मोबाइल,ल्यापटप र टि.भि को प्रयोग कम गर्ने

–खानपानमा ध्यान दिने, समय समयमा आँखाको चेक गरिरहने–सकेसम्म बाहिरी वा जंक फुड नखाने, सागपात र भिटामिन ए युक्त फलफूल खाने–कस्मेटिक र रसायनिक पदार्थको प्रयोग कम गर्ने गरेमा यस्तो समस्याबाट बच्न सकिन्छ  ।

प्रस्तुती: जितेन्द्र खनाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here