नयाँ वर्ष घुमघाम, शहर नजिकैका आकर्षक गन्तब्य

काठमाडौं, ३० चैत । नयाँ साल २०७६ को स्वागत तथा पुरानो साल २०७५ लाई बिदा गर्ने सन्दर्भमा यस वर्ष कामकाजी नेपालीलाई थोरै राहत मिलेको छ ।

“न्यू इयर इभ”मा शनिवार तथा आइतबार नयाँ वर्षको छुट्टी । खासगरी नजिकका गन्तब्यमा परिवार तथा साथीभाईसँग घुमघाममा निस्कने हो निम्न गन्तब्य उपयोगी हुन सक्छन् ।

चन्द्रागिरि
शहरबाट नजिक सुविधा सम्पन्न गन्तब्य हो, चन्द्रागिरि । कम्तिमा एक दिनको घुमघामलाई अविष्मरणीय बनाउन यो गन्तब्य उपयुक्त हुन सक्छ । समुन्द्री सतहबाट २५५१ मिटर अग्लो यो चुचुरो पुग्दा काठमाडौं उपत्यकाको धुलो धुवा र प्रदुषणबाट मुक्ति मिल्छ । यहाँसम्म पुग्न चन्द्रागिरि हिल्स प्रालिले केवलकार संचालनमा ल्याएको छ । थानकोटबाट हिड्दै पनि यो डाँडासम्म पुग्न सकिन्छ ।

दामन\चित्लाङ
मकवानपुर जिल्लामा पर्ने यी दुई गन्तब्य गर्मी मौसममा गर्मी छल्दै चिसोको आनन्द लिने आकर्षक गन्तब्य हुन् । २३२२ मिटर अग्लो दामनमा बैशाख, जेठमा पनि बिना ज्याकेट बस्न सकिन्न । खासगरी काठमाडौं, हेटौडा र प्रदेश नम्बर दुईका तराईका जिल्लाबाट पनि नजिकको शितल गन्तब्य हो । यी शहरबाट कम्तिमा दुई रात तीन दिनको प्याकेजमा आउने हो भने दामन र चित्लाङको मज्जा उठाउन सकिन्छ । चित्लाङ आकर्षक गाउँ हो । यहाँ होमस्टेको पनि व्यवस्था छ ।

भेडेटार\हिले
प्रदेश नम्बर १ का जिल्लामा थुप्रै आकर्षक पर्यटकीय गन्तब्य छन् । इलाम, धनकुटा, पाँचथर, ताप्लेजुङ जिल्लामा आकर्षक गन्तब्य छन् । त्यसमध्ये पनि धनकुटा बजारबाट करीव १३ किलोमिटर उत्तरमा पर्ने हिलेबाट आकर्षक दृष्यावलोकन गर्न सकिन्छ । उता भेडेटार पूर्वाञ्चलकै रमणीय स्थलका रुपमा परिचित छ । धरानबाट करीव १७ किलोमिटरको यात्रा पनि यहाँ पुगिन्छ । यो सुनसरी र धनकुटाको सिमाना पनि हो । तराईबाट गर्मी छल्ने उपयुक्त स्थानका रुपमा हिले र भेडेटारलाई लिने गरिन्छ ।

 

पन्चासे डाँडा
पर्वत, कास्की र स्याङ्जा जिल्लाको संगम स्थल हो पन्चासे डाँडा । पोखरा आफैमा चर्चित पर्यटकीय स्थल हो । तर, यहाँबाट पनि पहाड उक्लिएर आकर्षक दृष्यावलोकन गर्न यो गन्तब्य उपयुक्त बन्न सक्छ । गुरुङ समुदायको बाहुल्य रहेको यहाँ होमस्टेको समेत राम्रो व्यवस्था रहेको छ । २५१७ मिटर उचाईमा रहेको यस स्थानमा ताल, बाइसेचौबिसे राजाका दरबारको अवशेष, ऋषिमुनीहरुको कुटीलगायतसंरचना देख्न सकिन्छ । यहाँबाट रमणिय दृष्यावलोकन गर्न सकिन्छ ।

बतासे डाँडा \ तानसेन
भैरहवा तथा बुटवल यतिबेला चर्को गर्मीले उकुसमुकुम छ । यहाँबाट गर्मि छल्न जाने नजिकको गन्तब्य पाल्पा हो । पाल्पा सदरमुकाम तानसेन एक सुन्दर पहाडी शहर हो । यसको सबैभन्दा उच्च भागमा बतासे डाँडा अवस्थित छ । आकर्षक सल्लाघारी छिचोल्दै माथि पुगेपछि त्यहाबाट देखिने पहाडी तथा हिमाली ऋंखलाबाट यस यात्राको भरपुर आनन्द उठाउन सकिन्छ । बुटबलबाट ४१ किलोमिटर यात्रा पछि तानसेन पुगिन्छ ।

रारा (मुगु)
हवाई तथा सडक यातायातको सुविधा बिस्तार भएसँगै अब रारा टाढाको गन्तब्य रहेन । कर्णाली प्रदेशको गौरवको गन्तब्य हो, रारा । मुगु जिल्लामा अवस्थित रारा ताल पुग्न नेपालगन्ज या सुर्खेतबाट जहाज चढ्न सकिन्छ । नत्र सडक यात्रायातले पनि यस गन्तब्यलाई निकै नजिक ल्याइदिएको छ । सर्खेतस्थित काक्रेविहार घुमेर रारातर्फ चढ्दा पनि यस भेगको यात्रा रोमान्चक बन्छ ।

खप्तड
सुदुरपश्चिम प्रदेश तथा प्रदेश नम्बर ५ का शहरहरु धनगढी, नेपालगन्ज तथा अत्तरीयामा खपिनसक्नु गर्मी हुँदा २ दिनको यात्रापछि पुगिने खप्डतले गर्मी मौसममा पनि शितलता प्रदान गर्छ । डोटी, अछाम, बझाङ र बाजुराले काखमा राखेको आकर्षक खप्तड पुग्न काठमाडौंबाट हवाई यात्राहुँदै धनगढी र त्यसपछि सडक यात्रामार्फत डोटी या बझाङ पुग्न सकिन्छ । यी दुई जिल्लाको बाटो हुँदै एक दिन पैदल यात्रा गरेपछि भूस्वर्ग उपनाम पाएको खप्तड पुगिन्छ । खप्तड पुगेपछि भने आकर्षक भूवनावट र चिसो मौसमले सबै दुख पिर हटाइदिएको महसुश हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here