‘जुनुको जुत्ता’ ओवरहउसेन जाने, २०२० मै सिंगापुर पनि जाँदै

काठमाडौं, १० चैत । नेपाली चलचित्र ‘जुनुको जुत्ता’ विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ का लागि छानिएको छ ।

सो फिल्म ओबरहउसेनको ६६ औं संस्करणका लागि छानिएको निर्देशक केदार श्रेष्ठले जानकारी दिए ।

ओवरहउसेनको २०२० संस्करणका लागि विश्वभरबाट आवेदन गरेका ६५ सयभन्दा बढी फिल्महरुबाट उत्कृष्ट एक सय फिल्म छनौट हुँदा एसियाबाट छानिएका १९ फिल्ममध्ये ‘जुनुको जुत्ता’ छनौटमा परेको हो ।

सो फिल्म नेपालका चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेको छ ।

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिष्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एक सय फिल्म छनौट गरिन्छ । जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो ।

फेस्टिभल ओवरहउसेनलाई सर्ट फिल्मको सबैभन्दा सम्मानित र विशिष्ट महोत्सवको रुपमा लिइन्छ । यस महोत्सवको लागि हरेक वर्ष करिब सात हजार फिल्महरुको आवेदन पर्ने गरेको छ ।

छनौट भएको सय फिल्म, जर्मनी प्रतिस्पर्धा, विशेष प्रदर्शन तथा अन्य विविध विधामा गरी करीब पाँच सय फिल्महरुको प्रदर्शन गरिन्छ । महोत्सवमा ११ सय भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको जमघट हुने गरेको छ ।

सिंगापुर फेस्टिभलमा पनि ‘जुनुको जुत्ता’

यसैवीच ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि ‘जुनुको जुत्ता’ छनौट भएको छ । ‘बिग आइज बिग माइन्डस्’ नामले चिनिने यस फेस्टिभलको दशौं संस्करणमा ‘जुनुको जुत्ता’ लाइभ–एक्सन सर्ट फिल्म विधा अन्तर्गत छनौट भएको हो ।

‘बिग आइज बिग माइन्डस्ः सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’ बालबालिकाप्रति समर्पित सिंगापुरको पहिलो र एकमात्र चलचित्र महोत्सव हो ।

यस महोत्सवमा बालबालिकालाई शिक्षित तथा समृद्ध बनाउन र जीवनप्रति प्रेरित गर्न संसारभरका विविध र कल्पनाशील चलचित्रहरुको प्रदर्शन र प्रतिस्पर्धा हुन्छ ।

‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ ।

यस फिल्मले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९ मा नेपाल पनोरमा अन्तर्गत ‘बेस्ट फिक्सन अवार्ड’ जितेको थियो भने गत माघमा भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा ‘स्पेसल जुरी मेन्सन अवार्ड’ लिएको थियो ।

यशु श्रेष्ठको कथा ‘जुनुको जुत्ता’लाई निर्देशक श्रेष्ठ स्वयंले पटकथामा ढालेका हुन् । विभु पौडेल प्रोड्युसर रहेको फिल्ममा सरुन मानन्धरको सिनेमाटोग्राफी छ । विप्लपराज पोखरेल सम्पादित फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, शुशीला अधिकारी, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् ।

फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा लगायतको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here