अभिनय गर्दागर्दै मरे इयान, अभिनय ठान्दै दर्शकले ताली बजाइरहे

भनिन्छ, मानिसको जीवनमा निश्चित एउटै मात्र कुरा छ, त्यो हो – मृत्यु । तर विरलै मानिसको मृत्यु यस्तो हुन्छ, जहाँ मानिसहरु आनन्दले ताली बजाउँछन् ।

यस्तै अपत्यारिलो घटना वेलायतमा घटेको छ । स्ट्याण्ड अप कमेडीका चर्चित कलाकार इयान कग्निटो रंगमञ्चमा अभिनय गर्दागर्दै मृत्युवरण गरेका छन् । त्यहाँको लोन वुल्फ कमेडी क्लबमा गत राती अभिनय गर्दागर्दै उनको इहलीला समाप्त भएको हो ।

अभिनयको क्रममा ६० वर्षीय इयानले हार्ट अट्याकको बारेमा मजाक गरेका थिए । तर, त्यसको करीब १० मिनेटपछि एक स्टुलमा बसेका उनी उठेनन् । तर, उनको बसाइलाई व्यंग ठानेर दर्शकले भने ताली बजाइरहेका थिए ।

उनी नउठेपछि एम्बुलेन्स बोलाइएको थियो । तर, डक्टरले उनलाई स्टेजमै मृत घोषित गरे । एक दर्शक जोन ओस्टोयाकले त्यो दृष्य ज्यादै विडम्बनापूर्ण भएको बताए । एक अभिनेता स्टेजमै मरे अनि हामी त्यसलाई व्यंग ठानेर खुशी भइरह्यौ, हाँसीरह्यौं, उनले भने ।

उनी केही समय पहिलेदेखि बिमार रहेको बताइएको छ भने स्टुलमा बस्दा पनि उनले लामोलामो श्वास लिएका थिए । इयानको खास नाम पल बरबियरी हो । उनले विगत ३५ वर्षदेखि स्ट्याण्ड अप कमेडी गर्दै आएका थिए । सन् १९९९ मा उनले सोही विधाका लागि टाइम आउट अवार्ड समेत जितेका थिए ।

नेपालमा पनि गत वर्ष चर्चित नाटक तथा टीभी कलाकार विष्णुभक्त फुयाल अभिनय गर्दा गर्दै स्टेजमै मृत्युवरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here