प्रश्न गर्ने तरिका फेरौं, यो वर्ष के के भए ?

काठमाडौं, १ बैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई प्रश्न गर्ने तरिका फेर्न आग्रह गरेका छन् ।

‘कसैले निराशा पोख्न सक्छ– ‘यो एक बर्षमा के नै भयो र ?’ जिज्ञासु सबैलाई आग्रह गर्छु, आउनुस् हामी प्रश्न गर्ने तरीका नै फेरौं । सरकारलाई यसरी प्रश्न गरौं– यो वर्ष के के भए ?’ नयाँ वर्ष २०७६ओ अवसरमा शुभकामना सन्देश दिंदै उनले भनेका छन् ।

यो वर्ष कति कानून बने वा संशोधन भए, कति पक्की पुल बने, तुइन विस्थापित गरी पुल बनाउँदा के फाइदा भयो, पूर्वपश्चिम रेलमार्गको काम कहिले शुरु हुन्छ, पानीजहाज कहिलेबाट चल्छ, र नेपालसँग कति हवाइजहाज छन् जस्ता प्रश्न सोध्न उनले आमजनतालाई आग्रह गरेका छन् ।

‘नयाँ युगको शुरुवातको रुपमा थालिएको सामाजिक सुरक्षा कार्यक्रमले नागरिकको जीवनमा कस्तो प्रभाव पा¥यो ? आजैबाट शुरु हुने जेष्ठ–नागरिक स्वास्थ्य बीमा कार्यक्रमले हाम्रा आमा–बाबाहरुलाई के लाभ दिन्छ ? खोलौं बैंक खाता कार्यक्रम के हो ? यसले कसरी फाइदा पु-याउँछ ? हो यसरी प्रश्न गरौं,’ उनले भने ।

आफ्नो सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको पनि प्रम ओलीले बताए । घरजग्गा कारोवार, संगठित तस्करी, भन्सार/अध्यागमन, हुण्डी तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छित/अनुचित कामको छानबिन जारी रहेको उनको भनाइ छ ।

त्यसैगरी, जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता हुन थालेको र त्यस अभियानलाई निरन्तरता दिइने पनि उनले बताए ।

‘राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन । हामीलाई थाहा छ, भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिवद्ध छु,’ ओलीले भनेका छन् ।

सुशासनको शत्रु भ्रष्टाचार हो भन्दै उनले ‘भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने– भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसको मुख नहेर्ने’ आफ्नो दृढ सार्वजनिक घोषणा भएको पनि बताएका छन् ।

‘भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन । परम्परा हैन । हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौं । तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम/कुरा नगर्ने इमान भएको जाति नेपाली हो । तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन,’ उनले भने ।

आफ्नो सरकारले उच्च ओहदावालहरुलाई भ्रष्टाचारको छानविनको दायरामा ल्याएको र यसअधि यस तह र व्यापकतामा उच्चपदस्थहरु कहिल्यै छानविनको दायरामा नआएको प्रम ओलीको भनाइ छ ।

उनका अनुसार शंकाको घेरामा परेका र विगतमा अवाञ्छित कार्यमा संलग्न भनि गन्हाएकाहरु अहिले छट्पटिएका र अनपेक्षित ढंगमा बुरुक/बुरुक उफ्रिंदै क्रिया/प्रतिक्रिया दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here