अहिलेसम्मकै ठूलो राहत प्याकेज ल्याउँदै जापान

टोकियो, १५ चैत । जापानी प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरस महामारीबाट प्रभावित उद्योग व्यवसाय र जनताका लागि इतिहासकै ठूलो राहत प्याकेज ल्याउने बताएका छन् ।

राहत प्याकेजमा साना व्यवसाय तथा परिवारलाई विशेष प्राथमिकता दिइने उनले सनिबार आयोजित एक सम्मेलनमा बताएका हुन् ।

राहत प्याकेजमा नगद अनुदान पनि रहने बताइएको छ । त्यसमा वित्तीय, मौद्रिक र करसम्बन्धी सुविधाहरु समावेश हुने छन् ।

‘हामीले लेहमान संकटपछि घोषणा गरेको भन्दा पनि ठूलो राहत प्याकेज ल्याउने तयारी गरिरहेका छौं । अहिले त्यसको योजनामा काम भइरहेको छ,’ आबेले भनेका छन् ।

राहत प्याकेजका लागि जापान सरकारले अर्को साता पूरक बजेट ल्याउने तयारी गरिरहेको पनि आबेले बताएका छन् ।

सन् २००८ को विश्वब्यापी आर्थिक मन्दीपछि जापानले ५ खर्ब ६८ अर्ब अमेरिकी डलरको राहत प्याकेज ल्याएको थियो जसमा सार्वजनिक कार्य परियोजना, कर छुट, स्वास्थ्य तथा सामाजिक सुविधा र विश्व तापीय वृद्धिलाई सम्बोधन गर्ने कार्यक्रमहरु थिए ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here