दिल्लीका मूख्यमन्त्री केजरीवालको निर्देशन : उद्योगपतीले मजदुरको तलव नकाट्नु, घरबेटीले भाडामा नकस्नु

नयाँदिल्ली, १६ चैत । भारतीय राजधानी नयाँ दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले आइतबार उद्योगपति तथा रोजगारदातालाई मजदुरको तलव नकाट्न आग्रह गरेका छन् ।
उनले जिन्दगीभर कमाएको केही पैसा संकटको बेला बढी खर्च भएपनि मजदुरको हितका लागि तलव नकाट्न अनुरोध गरेका हुन् ।

‘भगवानले तपाईलाई यस्तै संकटमा खर्च गर्न अलि बढी पैसा दिएका हुन् । तपाईहरु यो बेला काममा आउनु पर्छ । मजदुरको पैसा त तपाईले काट्न पाउनु हुन्न नै, याद गर्नुहोस,तपाईका उद्योगमा काम गर्ने कुनै नि मजदुर भोकै बस्नु नपरोस,’ उनले भने ।

यो मानवताका लागि लडिएको सामूहिक लडाई भएको भन्दै यसमा सबैले साथ दिनुपर्ने उनको आह्वान थियो ।

उनले दिल्लीका घरबेटीलाई समेत कोठा भाडामा कडिकडाउ नगर्न आग्रह गरेका छन् । दुई तीन महिना भाडामा कडिकडाउ नगर्न आग्रह गर्दै उनले भने, ‘त्यो बेलासम्म पनि मजदुरले भाडा तिरेन भने तपाई ढुक्क हुनुहोस, उसको तर्फबाट सरकारले कोठाभाडा भुक्तानी गरिदिनेछ ।’

मूख्यमन्त्री केजरीवालका अनुसार अहिले दिल्लीमा दैनिक ४ लाख मानिसलाई निशुल्क खानाको व्यवस्था गरिएको छ । यो असहाय र कमाई नहुने मानिसका लागि हो ।

तर हुने खाने मानिससमेत यो लाइनमा लाग्ने गरेको भन्दै उनले मानवीयताका हिसावले समेत कम्तिमा पैसा तिरेर खान सक्ने मानिस त्यो लाइनमा नलाग्ने समेत उनले आग्रह गरे ।

भारतमा कोरोना फैलिए त्यो सरकारले नियन्त्रण गर्न नसक्ने चेतावनी दिँदै उनले मानिसलाई जहाँ छन्, त्यही बस्न समेत अनुरोध गरेका छन् । भारतका गाउँगाउँ जान शनिबार दिल्लीमा हजारौं मानिस बसपार्कमा भेला भएपछि मूख्यमन्त्रीले दिल्लीबासीलाई सम्बोधन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here