कोरोना कोषलाई पूर्वराजाको दुई करोड (पूर्ण वक्तव्य)

काठमाडौं, १८ चैत । पूर्वराजपरिवार सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा दुई करोड रुपैयाँ दिएका छन्। हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारले उक्त रकम दिएको हो ।

पूर्वराजाले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै यस महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गर्दै लकडाउन बाध्यात्मक अनिवार्यता भएको र यसमा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि उल्लेख गरेका छन्।

यस्तो छ पूर्वराजाको सचिवालयले मंगलबार जारी गरेको पूर्ण वक्तव्य:

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट विश्वमा देखा परेको “कोभिद १९” को सम्बन्धमा बक्सेको सन्देश:

विश्वमा अहिले देखा परेको कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको हामीले ठानेका छौं । देश र जनतामा यस महामारीले भय र संत्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति सम्बेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाँउ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भै सकेको छ ।

यो अबस्थाबाट मुक्त हुन “लकडाउन” नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।
महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सन्चारकर्मी एबम पत्रकारहरूप्रती हामी आभारी छौँ ।

आम नेपाली दाजुभाई तथा दिदी बहिनीले दु:खको घडीमा अभाव र समस्या सहेर पनि यस बिरुद्ध लड्न जुन अनुशासन तथा धैर्यता दर्शाउनुभएको छ यसको हामी उच्च सराहना गर्दछौं ।

राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भै रहेको बेलामा यसको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउन हामी अनुरोध गर्दछौ । दु:ख-कष्ट र आपत-बिपदको यो घडीमा सबैका साथमा साथ दिदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको “कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष” मा दाखिला गर्न बुझाएका छौ । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौ ।

भगवान श्री पशुपतिनाथले हामी सबैको रक्षा गरून्,

जय नेपाल।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here