वाईफाई सुस्त भयो? लाइभ स्ट्रिमिङ नगर्नुस, माइक्रोवेभ ओभन नचलाउनुस

Source: coworker.com

कोरोनाभाइरस संक्रमण र महामारीको त्रासले अहिले संसारभर बन्दाबन्दी छ । धेरै मानिसहरु घरमै खुम्चिएर बस्न बाध्य छन् । घरमा बसेका मानिसको समय कटाउने माध्यम भएको छ – इण्टरनेट ।

सामाजिक सञ्जालको प्रयोग ह्वात्तै बढेको छ । युट्युबमा भिडियो हेर्ने, अपलोड गर्ने र डाउनलोड गर्नेको संख्या पनि त्यसै अनुपातमा बढेको छ । अझ फेसबुक, ट्वीटर, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालको प्रयोग गरेर मानिसहरु समय कटाइरहेका छन् ।

त्यस्तै देशविदेशमा भएका आफन्तको हालचाल बुझ्ने र कुराकानी गर्ने माध्यम पनि इण्टरनेट नै हो । अनलाइन आउटसोर्सिङका कामहरु इण्टरनेटबाटै हुन्छन् भने स्वदेशमै पनि मानिसहरु घरमै बसेर अफिसको काम गरिरहेका छन् ।

यस्ता गतिबिधिले इण्टनेटको ब्याण्डविथमा चाप पारेको छ । अहिले अधिकांश इण्टरनेट प्रयोगकर्ताका गुनासो एउटै छः नेट चलेन वा सुस्त भयो । र, यो समस्या नेपालजस्त कम विकसित मुलुक मात्र होइन युरोपेली देशमा पनि उत्तिकै छ ।

यसैवीच के थाहा भएको छ भने इण्टरनेट सुस्त हुनुमा ब्याण्डविथ र कम्प्युटरको मात्र नभइ घरमा चलाउने कतिपय विद्युतीय उपकरणको पनि भूमिका रहन्छ ।

सिनेमा वा भिडियो स्ट्रिमिङ नगरौं
इण्टनेटलाई सुस्त बनाउनबाट जोगाउनका लागि पहिलो काम भनेको सिनेमा र भिडियो स्ट्रिमिङ नगर्नु वा धेरै ब्याण्डविथ खाने गेम नखेल्नु हो । खासगरी, धेरै मानिसहरु अनलाइन हुने समयमा यी दुई काम नगरेकै राम्रो । यसले वाईफाईमा उच्च चाप पार्छ ।

यदि कुनै भिडियो वा सिनेमा हेर्नै पर्ने भयो वा कुनै सामग्री आवश्यक भयो भने त्यसलाई वाईफाईमा चाप कम भएका बेला डाउनलोड गरेर राख्नु राम्रो उपाय हो । यसले तपाईंका कारण वाईफाइमा पर्ने चाप उल्लेख्य मात्रामा घट्छ र परिवारका सदस्यले अलि तिब्र गतिको इण्टरनेट चलाउन पाउँछन् ।

माइक्रोवेभ र टीभी नचलाउनुस्
यसैविच के पनि थाहा हुन आएको छ भने वाईफाई सुस्त हुनु मा टेलिभिजन र माइक्रोवेभ ओभनको पनि भूमिका छ ।

वेलायती मिडिया नियामक अफकमका अनुसार माइक्रोवेभले वाईफाईको सिग्नललाई घटाउने गर्छ । त्यसैले तपाईंले भिडियो कल गर्दै हुनुहुन्छ, एचडी मूभि हेर्दै हुनुहुन्छ वा कसैलाई तिब्र इण्टरनेट कनेक्सन चाहिएको छ भने माइक्रोवेभ ओभन र टीभी बन्द गर्नुस् ।

माइक्रोवेभ ओभनले वाईफाई राउटरले जस्तै २.४ गिगिहर्ज फ्रिक्वेन्सी प्रयोग गर्छ जसका कारण तपाईंको इण्टरनेटमा बाधा पुग्ने वा बन्द नै हुने समस्या आउन सक्छ । कतिपय राउटरले ५ गिगाहर्जमा परिवर्तन गर्ने सुविधा पनि दिएका हुन्छन् । यति तपाईंको राउटरमा यस्तो सुविधा छ भने त्यो प्रयोग गर्दा हुन्छ ।

केबलको प्रयोग गर्नुस
यदि घरमा धेरै सदस्य छन्, सबैले वाईफाई चलाइरहेका छन् तर तपाईंले कम्प्युटरमा काम गर्नु पर्ने छ भने नेटवर्क केबलको प्रयोग गर्नु उत्तम उपाय हो ।

लकडाउनका कारण केबल पाउनु भएन भने राउटरलाई अरु मानिसभन्दा अलि पर र आफ्नो काम गर्ने टेबलमै राख्नुस् । यसले तपाईंको इण्टरनेटको गुणस्तर पक्कै बढाउनेछ ।

एक्स्टेन्सन केबल प्रयोग नगर्नुस
कर्डलेस फोन, बेबी मोनिटर, हेलोजिन ल्याम्प, डिममर स्विच, स्टिरियो, कम्प्युटर स्पिकर र मनिटरले पनि वाईफाईको स्पिड घटाउँछन् । त्यसैले वाईफाईलाई एक्सटेन्सन केबलमा होइन सिधै वाल स्विचमा जोड्नुस् ।

त्यसै गरी तपाईंले प्रयोग नगरे पनि वाईफाई कनेक्ट भएका फोन तथा ट्याब्लेट जस्ता डिभाइसले वाईफाई सुस्त बनाउन भूमिका खेलिरहेका हुन्छन् । त्यसैले प्रयोग नगरेका बेला यस्ता विद्युतीय सामग्रीलाई स्विच अफ गर्नुस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here