क्लियरिङ हाउसले चेक क्लियरिङको समय बढायो, १ बजेसम्म चेक बुझाउन सकिने

काठमाडौं, २६चैत । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबाट सञ्चालनमा रहेका प्रणालीहरु मध्ये ईलेक्ट्रोनिक चेक क्लियरिङ र अन्तरबैंक भुक्तानी प्रणालीमा विहीबारदेखि लकडाउन पूर्वको अवस्था बमोजिमको समयसम्म क्लियरिङ र सेटलमेन्ट हुने भएको छ ।

नयाँ व्यवस्थाअनुसार दिनको १:३० बजे सम्म जम्मा गरिएका चेक र १:०० बजेसम्म प्राप्त भएका भुक्तानी आदेशहरु सोही दिनमा फर्छ्यौट हुनेछन् । उक्त समय सीमापछि प्रणालीमा आएका कारोबार भने अर्को दिन मात्र सम्पादन हुनेछन् ।

हालको लकडाउनको अवस्थामा बैंक वित्तिय संस्थाहरुका सीमित शाखाहरुबाट मात्र कारोबार हुँदै आएको र ग्राहकहरुलाई शाखासम्म पुग्न समेत अप्ठेरो भएकोले, लकडाउनको दोस्रो हप्तासम्म प्रत्येक दिन ११:३० बजेसम्म प्राप्त भएका कारोबारको मात्र सोही दिनमा क्लियरिङ्ग हुँदै आएको थियो ।

चैत्र मसान्तमा अत्यावश्यक सेवा सुविधा अन्तर्गतका भुक्तानीहरुको चाप अधिक हुने हुँदा लकडाउनको तेस्रो हप्ताको लागि क्लियरिङ र सेटलमेन्टको समय परिवर्तन गरिएको कम्पनीले बताएको छ ।

कर्मचारीहरुको तलब भत्ता, सरकारी भुक्तानीहरु, सप्लायर/पार्टी भुक्तानीहरु, कस्टमर फण्ड ट्रान्सफर लगायतका भुक्तानीहरु चैत्र मसान्तमा अधिक मात्रामा हुने गर्दछन् ।

एनसीएचएलको कनेक्ट आईपीएसबाट भने साविक बमोजिम चौबिसै घण्टा यसको मोबाईल एप्स, वेबसाइट अथवा बैंक वित्तिय संस्थाका मोबाईल र ईन्टरनेट बैंकिङ्गबाट कारोबार गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

लकडाउनको दौरान एनसीएचएलले पहिलो र दोस्रो हप्तामा क्रमश १८.६ अर्ब र ३५.६ अर्ब बराबरको कारोबार फर्छ्यौट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here