बढ्न थाल्यो तरकारी र खाद्यान्नको मूल्य

काठमाडौं, २८ चैत । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको जनाउँदै यसको मूल्य बढाएका हुन् ।

कतिपय व्यापारीले भूकम्प र नाकाबन्दीमा जस्तै अहिले पनि कमाउने समयका रुपमा लिएको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत सङघ-सस्थाले बताएका छन् । ‘लकडाउन’ जारी रहँदा चामल, दाललगायतका खाद्यान्न पनि तोकिएको भन्दा बढी मूल्यमा बिक्री हुन थालेको उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए ।

सरकारले पर्याप्त अनुगमन नगरेकाले व्यवसायीले ताकिएको भन्दा बढी मूल्यमा खाद्यान्न बेच्ने गरेको आरोप लगाए। उनले भने, ‘धेरै व्यापारीले भूकम्प नाकाबन्दीका समयमा पनि बढी मूल्य लिँदा केही भएन अहिले पनि केही हुँदैन भन्ने सोचेका छन् ।’

साँझ र बिहानको समयमा मात्रै खाद्यान्न पसल खुल्दा बजारमा यी समयमा भीडभाड हुने गरेको अध्यक्ष तिमल्सिनाले बताए। व्यापारीलाई मास्क, पञ्जालगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न र दूरी कायम गरेर मात्रै सामान दिन भनिए पनि पूर्णरुपमा पालना भइरहेको छैन । उनले भने, ‘कतिपय व्यापारीले यसलाई पालना गरे पनि कतिपयले नगरेको पाइएको छ ।’

बजार मूल्य ह्वात्तै बढेको छ । कतिपय व्यापारीले घरमै पु¥याए पनि सेवा (होम डेलिभरी) शुरु गरेका छन् । कम्तीमा यति मूल्यबराबरको तरकारी किन्नुपर्ने र पुर्याउने ज्याला तोकिएकाले त्यसको जानकारी भए पनि प्रयोग नगरेको बालकुमारीकी सीता न्यौपानेले बताए ।

ठूलो परिवार र सम्पन्न व्यक्तिका लागि मात्रै यो उपयुक्त हुने उनको भनाइ छ । उनले भने, ‘हामीले आफैँ छानेर रु ५०-१०० को एक दुई छाक किन्ने मान्छेले कम्तीमा रु १५ सय दुई हजारको तरकारी कहाँ किन्न सक्छौँ ।’

बजारमा अहिले तरकारी र फलफूल नपाउने समस्याभन्दा पनि महँगो पर्नु उपभोक्ताका लागि समस्या भएको अध्यक्ष तिमल्सिनाले बताए। व्यवसायीले विभिन्न स्थानबाट ल्याउँदा बढी भाडा परेकाले मूल्य बढेको बताउने गरेको उनले जानकारी दिए ।

उपत्यका आसपासका जिल्लाबाट तरकारी ल्याउन चालक/सहचालकले पहिलेभन्दा दोब्बर भाडा माग्ने गरेको व्यापारीले बताउँदै आएका छन् ।

उनले भने, ‘यसमा स्थानीय तहले पनि समन्वय गर्नुपर्छ, अहिले एकातिर गाउँको उत्पादन खेर गइरहेको छ भने अर्कातिर शहरी क्षेत्रमा तरकारीको मूल्य ह्वात्तै बढेको छ ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी दीपक पोखरेलले विभागले सङ्कटका समयमा आमउपभोक्तालाई पर्न सक्ने समस्या तत्काल सुन्न र सम्बोधन गर्न टोल फ्री नम्बर ११३७ शुरु गरेको बताए ।

यो टेलिफोनमा पहिले सबैभन्दा बढी ग्यास, माक्स र सेनिटाइजर नपाएको गुनासो आउने गरेको थियो । बजारमा पहिले आधा र अहिले पूरै सिलिन्डर ग्यासको बिक्री भइरहेकाले यी गुनासोमा कमी आएको छ ।

विभागले आएका गुनासोका आधारमा टोली अनुगमन गएर कुनै समस्या पाइएमा कारवाही अघि बढाएको उनको भनाइ छ । केही दिन पहिले मात्रै मासु र ग्यासको मूल्य तोकिएभन्दा बढीमा बिक्री गरेको भन्दै कारवाही गरिएको थियो । उनले भने, ‘टोल फ्री नम्बर १२ घण्टा खुल्ला हुन्छ र त्यसमा गुनासो आउँदा हामीले अनुगमन र कारवाही गरिरहेका छौँ ।’

कति बजेदेखि कति बजेसम्म पसल खुल्ने/खुलाउने भन्नेमा स्वयं व्यापारी, प्रहरी र स्थानीयवासी अन्योलमा छन् । मुख्य सडकमा बिहान बेलुका खोल्दा पनि प्रहरी हतारिएर बन्द गराउन आउने भए पनि उपत्यकाका कतिपय स्थानमा भित्री चोकमा दिनभर पसल खुलेको उनले बताए।

‘लकडाउन’ का समयमा ढुवानी सहज नभएकाले पनि बजारमा पर्याप्त तरकारी नभएको उनको भनाइ छ । मागअनुसार आपूर्ति नभएकाले पनि भाउ बढेको हुनसक्ने उनले बताए । उनले भने, ‘अत्यावश्यक खाद्यान्नको सहज आपूर्तिको व्यवस्था हुनुपर्छ ।’

काठमाडौं उपत्यकाका आसपासका क्षेत्र र नजिकका जिल्लाबाट शहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा ढुवानी सहज नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैनन् ।

खाद्य वस्तु बजारसम्म पुर्याउन नपाउँदा दूध र तरकारी उसै खेर गइरहेको स्थानीयवासी किसानले गुनासो गर्दै आएका छन् । उपत्यकाका काँठ क्षेत्र, धादिङ, काभ्रे, नुवाकोट, चितवनलगायत जिल्लाबाट उपत्यकामा तरकारी र दूधको आपूर्ति हुने गरेको थियो ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here