एक सातापछि नयाँ कोरोना संक्रमित भेटिए, एकैदिनमा १७ जना रेड जोनमा

काठमाडौं, ३० चैत । आइतवार थप तीन जनामा कोरोना संक्रमण फेला परेको छ ।

एक सातापछि आइतबार नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका हुन्। तीन जनामा कोरोना संक्रमण फेला परेको नियमित पत्रकार ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको नमुना परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा ३७, ४४ र ५५ वर्षीय भारतीय पुरुष छन्। उनीहरु तीनै जनाको उपचार वीरगञ्जस्थित नारायणी अस्पतालमा भइराखेको छ।

शुक्रबार हेटौंडामा परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

आइतबार प्रयोगशालामा पुनः परीक्षण गर्दा उनीहरुमा पोजिटिभ देखिएको हो। यसअघि नेपालमा ९ जनामा कोरोना पुष्टि भएको थियो।

जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन्। अन्य आठजनामध्ये चारजनाको धनगढी र दुईदुई जनाको बागलुङ र टेकुमा उपचार भइराखेको छ।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र १५ जना र उपत्यका बाहिर ७० जना गरेर ८५ आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै देशभर ७ हजार ९ सय ७३ जना मानिस क्वारेन्टाइनमा रहेका छन्।

उनका अनुसार १५ हजार ७० जनाले मोबाइलमा कोरोना परीक्षणको इन्ट्री गराएकोमा पछिल्लो २४ घण्टामा १७ जना रेड जोनमा परेका छन्। अहिलेसम्म २ सय ६ जना रेड जोनमा छन्। उनीहरुसँग मन्त्रालयले फोन मार्फत् कोरोना संक्रमणबारे जानकारी लिइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here