बुद्ध एयरले भन्याे- माैसममा खराबीकाे कारण सञ्चारमन्त्रीलाई पर्खिएनाैं

फाइलफोटो

काठमाडाैं, ३ बैशाख । बुद्ध एयरले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई नपर्खिकन उडान भरेकाे बारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारकाे बारेमा स्पष्टिकरण दिएकाे छ ।

एयरले मंगलबार एक विज्ञप्ति निकाल्दै माैसममा खराबीकाे कारण छिटाे उडान गर्नुपर्ने बाध्यता भएकाले सञ्चारमन्त्रीलाई  पर्खन नसकेकाे बताएकाे हाे ।

एयरका अनुसार वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नं. ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारण बेलुका ७ बजे उडेको र ७ बजेर ३२ मिनेटमा भैरहवामा अवतरण भएको थियो ।

काठमाडौंबाट उड्ने बित्तिकै भैरहवा विमानस्थलमा रहेका एयरका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा सञ्चारमन्त्री र उनको टोली सो उडानबाट नजाने भन्दै वैशाख ३ गते विहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गरेकाे कम्पनीले दाबी गरेकाे छ ।

मौसममा खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता रहेको र त्यसै अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेकाे अवस्थामा मन्त्री पनि साेही उडानमा फर्कन निस्किएकाे सूचना पाएकाे एयरले बताएकाे छ ।

सञ्चारमन्त्रीकाे टाेली होटल टाईगर प्यालेस रिसोर्टबाट निस्किसकेकाले उडान राेक्नकाे लागि रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेकाे तर, धेरै समय लाग्ने भएकाले बाध्यात्मक अवस्थामा उडान भरेकाे कम्पनीले विज्ञप्तीमा उल्लेख गरेकाे छ ।

कम्पनीले भनेकाे छ,  ‘सञ्चारमन्त्रीकाे लागि ३०–३५ मिनेट पर्खदा मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउने सम्भावना थियाे । र, यसैकारण बाँकी ६८ जना यात्रुलाई असुविधा हुने र आर्थिक व्ययभार पनि बेहोर्नु पर्ने कारणले उहाँलाई नपर्खिकन उडान भरेका हाैं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here