अलपत्र नेपालीलाई फर्काउन एनआरएनएले पहल गर्ने, दोस्रो चरणको सामान सोमबार आउने

काठमाडौं, ८ बैशाख । विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन गैर आवासीय नेपाली संघ (एनआरएनए)ले पहल गर्ने भएको छ । खाडीमा श्रम गरिरहेका नेपालीहरु बिचल्लीमा परेका खबरहरु आईरहेको बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको उसले बताएको छ ।

संघको कोभिड–१९ उच्चस्तरीय समितिको बैठकमा संघका अभियन्ताहरुले विद्यार्थी, श्रमिक तथा विविध कारणले अवैधानिक रुपमा बस्दै आएका नेपालीहरुको अवस्थाबारे चिन्ता प्रकट गरेका छन् ।

आइतवार कन्फ्रेन्स कलमार्फत सम्पन्न बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले कोभिड–१९ पछि दुईवटा क्षेत्रमा केन्द्रित रहेर काम सुरु गरिएको बैठकलाई जानकारी गराए ।

उनले भने, नेपालको सन्दर्भमा पहिलो चरणको स्वास्थ्य सामग्री हस्तान्तरण भइसकेको र दोस्रो चरणका सामान सोमबारसम्म हस्तान्तरण गरिने छ । नेपाल सरकारले थप स्वास्थ्य सामग्री आवश्यक ठाने गैरआवासीय नेपाली संघका शाखाहरु दिन तयार छन् ।

पन्तले साइप्रस, अष्ट्रेलिया, अमेरिकालगायत देशमा रहेका विद्यार्थी र श्रमिक कोरोना भाइरसले प्रभावित भएको बैठकलाई जानकारी गराए ।

उनले तीन चरणमा रहत वितरण भइरहेको बैठकलाई जानकारी गराए । उनले भने, ‘पहिलो चरणमा जनचेतना, राहत, दीर्घकालीन नीति निर्माणको काम भइरहेको छ । विदेशबाट फर्कन चाहनेको संख्या हजारौं छ । कुवेतमा ३ हजारभन्दा बढी कागजी प्रकृया पूरा नगरेका नेपालीको संख्या छ । कैयौं नेपालीलाई स्थानीय सरकारले सहयोग नगरेपछि अलपत्र परेकालाई नेपाल फर्काउने बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल भइरहेको छ र परराष्ट्रमन्त्री यस विषयमा सकरात्मक छन् ।’

एनआरएनए स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाले कोरोनाभाइरसको संक्रमण अहिले पनि बढ्दै गइरहेकाले जनचेतनाको अभियानलाई अझै तिब्रता दिनुपर्ने बताए । विदेश यात्रा गर्दा संक्रमणको १० गुणा खतरा हुने भएकाले सबैजना चनाखो हुन उनले सुझाए ।

संघका उपाध्यक्ष डा. बद्री केसीले पहिलो चरणमा ४ हजार टेस्ट किट नेपालमा हस्तान्तरण भइसकेको र बाँकी चीनमा भन्सारसम्बन्धी नियम परिवर्तन हुँदा खरिद गरेको सामान आउन ढिलाइ भएको बताए । उनले विदेशमा अलपत्र नेपालीको सहयोगका लागि बैदेशिक सामाजिक कोषमा रहेको रकम परिचालन गर्न सरकारसँग छलफल भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here