पवनकलीले बालबालिकासँग कुरा गर्ने, आइतबारदेखि प्रशारण शुरु हुँदै

काठमाडौं, १३ बैशाख । चर्चित टेलिभिजन कार्यक्रम ‘पवनकली शो’मा बालबालिकालाई लक्षित गरी कोरोनाभाइरससम्बन्धी सामग्रीहरु प्रशारण गरिने भएको छ ।

कार्यक्रम युट्युब र रेडियो माध्यममा आधारित रही उत्पादन र प्रशारण गरिनेछ । ‘पवनकली सो’ कार्यक्रम भोलि १४ वैशाखदेखि हरेक आईतबार बिहान ७ः१५ देखि ७ः३० सम्म सामुदायिक सूचना नेटवर्क (सिआईएन) मार्फत् देशैभरिका सामुदायिक रेडियोहरु, युट्युब र सामाजिक सञ्जालहरुबाट प्रशारण हुनेछ ।

चर्चित रंगकर्मी तथा नायिका लुनिभा तुलाधरले ‘पवनकली सो’ कार्यक्रम सञ्चालन गर्नेछिन् । कार्यक्रम उत्पादन समूहका सदस्यहरु र सहभागी सुरक्षित रहुन् भनेर सामाजिक दूरीका निर्दे्शिकाहरु पालना गर्दै कार्यक्रमको छायांकन गरिनेछ ।

सेभ द चिल्ड्रेन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा ’पवनकली सो’ कार्यक्रम प्रशारणमा आउन लागेको हो । कार्यक्रम मूलतः बालबालिका लक्षित हुने भएपनि समग्र श्रोता र दर्शकले पनि मनोरञ्जन र सूचनाहरु पाउने सेभ द चिल्ड्रेनले बताएको छ ।

‘कोभिड१–९ का कारण सिर्जित अहिलेको विषम परिस्थितिमा सञ्चार माध्यमहरुमा बालमैत्री सूचनामूलक सामग्रीको आवश्यकतालाई महसुस गरेर सेभ द चिल्ड्रेनले ‘पवनकली सो’ कार्यक्रमसँग सहकार्य गरी बालबालिका र समग्र श्रोता र दर्शक लक्षित सामग्रीहरु प्रशारण गर्न लागिएको हो,’ सेभ द चिल्ड्रेनका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले भनिन ।

उनका अनुसार हाँस्यप्रधान ढाँचाको यस कार्यक्रम बालबालिका र समग्र श्रोता र दर्शकलाई जानकार, सुसूचित र सचेत बनाउन प्रभावकारी हुनेछ ।

साथै यस कार्यक्रमले श्रोता र दर्शकलाई आफ्नो व्यवहार परिवर्तनका लागि अबलम्बन गर्नुपर्ने आनीबानीका बारेमा झक्झकाउने, सकारात्मक व्यवहारका लागि उत्प्रेरित गर्ने र कोभिड–१९ को संक्रमण रोक्नका लागि मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

युट्युब र रेडियो माध्यमका लागि उत्पादन गरिने यस ‘पवनकली सो’ कार्यक्रममा कोभिड–१९ बारेका अफवाह पत्ता लगाउने र रोक्ने तौरतरिका, मानसिक स्वास्थ्य, बालबालिका विरुद्ध हुने हिंसा, शैक्षिक सवालहरुमा मौलिक ठेट भाषामा नाटकीय प्रहसन र कमेडी प्रस्तुती हुनेछ ।

साथै, विज्ञहरु, चर्चित व्यक्तिहरु र देशका विभिन्न ठाउँबाट बालबालिकासँगको कुराकानी पनि यस कार्यक्रममा समेटिनेछ ।

तथ्यपरक सूचनामा आधारित वेबसाईट र रेडियोबाट प्रशारण गरिने सामग्रीहरुले कोभिड–१९ सँग जोडिएर आउने गलत सूचनाहरु फैलिन नदिन र सही सूचना प्रवाहका लागि सरकारलाई सघाउनेछ, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक, कुञ्ज जोशीले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here