काठमाडौं, १४ बैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीको व्यस्तताले दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद केहि समय पर सरेको छ ।
लकडाउनका बारेमा निर्णय गर्न प्रधानमन्त्री निवासमा बस्ने मन्त्रिपरिषद बैठक ५ बजेको लागि सारिएको स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम(सिससएमसी) सँग छलफल गर्ने भएका छन्।
आजको मन्त्रिपरिषद बैठकले लकडाउन थप्नेबारे निर्णय गर्ने बताइएको छ। शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सात दिन लम्ब्याउन सुझाव दिएको थियो।
समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको छ।
तर एक हप्ताभित्र सङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि लम्ब्याउने दुई साता थपिन सक्ने स्रोतले जनाएको छ ।
काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको छ।
सरकारले चैत ११ गते पहिलोपटक सात दिन लकडाउन घोषणा गरेको थियो। पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो । चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत २५ गतेसम्म कायम राखेको थियो ।
चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो ।
शनिवार बसेको उच्चस्तरीय समन्वय समितिले विभिन्न मोडालिटी तयार पारेर लकडाउनलाई व्यवस्थित गर्न खाका समेत तयार पारेको छ। सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।