लगानी प्रस्ताव गर्ने म्याद एक महिना थप, अनुगमनका लागि बेग्लै संयन्त्र

काठमाडौं, ५ बैशाख । गत चैतमा आयोजित लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजनाहरुमा लगानी प्रस्ताव गर्ने अवधि एक महिना थपिएको छ ।

बिहीवार बसेको लगानी बोर्डको बैठकले इच्छुक लगानीकर्ता तथा विकासकर्ताहरुले प्रस्तावसहितको निवेदन पेश गर्ने म्याद २० अप्रिल २०१९ बाट एक महिना थप गरी २० मई सम्म बनाएको हो ।

ठूला पूर्वाधार, जलविद्युत तथा अन्य औद्योगिक परियोजनामा विदेशी लगानी भित्र्याउने उद्देश्यले सरकारले गत चैत १५ र १६ गते लगानी सम्मेलन आयोजना गरेको थियो । विगतमा जस्तो सम्मेलनस्थलमै लगानीको आशय पेश गर्ने प्रचलनविपरित यसपाली इच्छुक लगानीकर्तालाई एक महिनाको अवधि दिइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसको बोर्डको सो ३७ औं बैठकले लगानी सम्मेलनमा प्रस्तुत गरिएका परियोजनाहरुमा प्राप्त प्रस्तावहरुको मूल्यांकनलगायत कार्यको अनुगमान गर्न तथा उक्त अवसरमा भएका समझदारी तथा संयुक्त लगानी सम्झौताको कार्यान्वयन तथा अनुगमान गर्न प्रधानमन्त्री कार्यालयका आर्थिक तथा पूर्वाधार हेर्ने सचिवको अध्यक्षतामा पाँच सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ ।

उक्त संयन्त्रमा भौतिका पूर्वाधार तथा यातायात मन्त्रालयका, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा लगानी बोर्डको कार्यालयकबाट एक–एक जना सहसचिव सदस्यको रुपमा रहने छन् ।

बैठकमा बोल्दै प्रम ओलीले लगानी सम्मेलन देशको आर्थिक विकासका लागि एक महत्वपूर्ण अवसर तथा आधार हुन पुगेको बताए । सम्मेलनमा प्रस्तुत भएका परियोजनाहरुका लागि लगानीकर्ता छनोट र कार्यान्वयनको प्रक्रिया प्राथमिकताका साथ शीघ्र अगाडि बढाउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए ।

साथै, उपत्यकामा सुविधासम्पन्न अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम आगामी पाँच महिनाभित्र सम्पन्न गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले परियोजना प्रस्तावहरुलाई प्रभावकारी कार्यान्यवनका लाग गर्नु पर्ने कार्यहरुको सूची प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here