संकटमा पनि सूचनाप्रविधि सरकारको प्राथमिकतामा नपर्नु बिडम्बनापूर्णः क्यान महासंघ

काठमाडौं, २७ बैशाख । कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान महासंघ)ले सूचनाप्रविधि सरकारको प्राथमिकतामा नपर्नु बिडम्बनापूर्ण भएको बताएको छ ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत सम्बोधन गर्न उसले माग गरेको छ ।

क्यान महासंघले शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव मार्फत संचार तथा सूचना प्रविधि मन्त्री माननीय डा. युवराज खतिवडालाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै यस्तो धारणा राखेको हो ।

मन्त्रीपरिषदको बैशाख २४ गते बसेको बैठकले बन्दाबन्दीलाई आगामी जेठ ५ गतेसम्म लम्ब्याउने र थप उद्योगधन्दाहरु सुचारु गर्ने निर्णय गरेकोमा सञ्चार तथा सूचनाप्रविधि क्षेत्र नसमेटिएपछि यस क्षेत्रको छाता संगठनले आपत्ति जनाएको हो ।

महासंघका अध्यक्ष नवराज कुंवरले हस्ताक्षर गरेको ज्ञापनपत्र पेश गर्न महासचिव नारायण थापा, संस्थापक अध्यक्ष डा. बिमल कुमार शर्मा र क्यान महासंघका प्रबन्धक सुबास पौडेलले मन्त्रीलाई बुझाएका हुन् ।

हिंडडुल निषेध गरिएको बन्दाबन्दीको यो समयमा औषधीउपचार पछि सबैभन्दा महत्वपूर्ण सेवा सञ्चार तथा सूचना प्रबिधि भएको र यो विनाको व्यक्तिगत, सामाजिक तथा व्यावसायिक जीवनको परिकल्पना गर्न नसकिने कुँवरले बताए ।

सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा दूरसञ्चार कम्पनी, इण्टरनेट सेवा प्रदायक, सर्भिस प्रदायक, कम्प्युटर तथा मोबाइल मर्मत केन्द्र, हार्डवेयर विक्रेता र सफ्टवेयर एवम् एप्लिकेशन निर्माता कम्पनीहरुले संकटको समयमा अत्यन्तै महत्वपूर्ण सुविधा उपलब्ध गराएका छन् ।

तर बन्दाबन्दीका कारण उनीहरुलाई आफ्ना कर्मचारी तथा कामदारहरुलाई आवश्यक परेका स्थान तथा कार्यालयमा पठाउन र सेवा दिन अत्यन्तै असुविधा परेको छ, ज्ञापनपत्रमा भनिएको छ ।

सूचना प्रविधिका नयाँ सेवा तथा सामग्रीको आपूर्ति तथा मर्मतमा आम उपभोक्ताले समस्या भोगे पनि सहयोग पाउन नसकेको पनि पत्रमा उल्लेख छ ।

यो क्षेत्रको महत्व र संवेदनशीलतालाई मनन गरी सरकारले तत्कालै वातावरण सहज गराउनमा ध्यान दिन क्यान महासंघले आग्रह गरेको छ ।

अन्तराष्टियस्तरमा सूचना प्रविधि क्षेत्रलाई अत्यावश्यक सेवाअन्तर्गत सूचित गरिरहंदा नेपाल सरकारले सूचना प्रविधिको महत्व नबुझी यस क्षेत्रलाई प्राथमिकतामा नराखेकोमा महासंघले दुःख व्यत्तः गर्दै क्षेत्रलाई अत्यावश्यक सेवा सरह व्यवहार गर्न अनुरोध गरेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here