रासायनिक मल कालोबजारी गरेको आरोपमा गोरखाबाट दुई पक्राउ

गोरखा, २८ बैशाख । जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले मल कालोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फर्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा फार्म सञ्चालक भक्तबहादुर श्रेष्ठ र फर्ममा काम गर्ने रेशम श्रेष्ठ रहेका छन्।

मल बिक्रीको अनुमतिसमेत नभएको उक्त फर्मले किसानलाई प्रतिकिलो ३५ रुपैयाँका दरले मल बिक्री गर्दै आएको प्रहरीले बताएको छ।

सञ्चालक श्रेष्ठले फर्मको नामबाट मूल्यसूची टाँस नगरी अत्याधिक दरभाउ कायम गरी अनधिकृतरूपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि सदरमुकामबाट विशेष प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए।

प्रहरीले श्रेष्ठको फर्ममा रहेको ५३ बोरा रासायनिक मल भण्डारलाई समेत सिल गरी अनुसन्धान अघि बढाएको उनको भनाइ छ।

पक्राउ परेका दुवै जनाविरुद्ध कालोबजारी ऐन, २०३२ अन्तर्गत कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

आफूहरु ठगिएको थाहा पाएपछि किसानले शुक्रबार दिनभर उक्त फार्ममा धर्नासमेत दिएका थिए।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here