निजगढ विमानस्थल: ४२ सय रुख कटानको प्रक्रिया अगाडि बढाउने निर्णय

काठमाडौं, २८ बैशाख । राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढ्ने भएको छ ।

निजगढ विमानस्थल निर्माणमा अन्तरनिकाय समन्वयसम्बन्धी उच्चस्तरीय सहजीकरण समितिले आयोजना कार्यहरु अघि बढाई १० दिनभित्र प्रगति प्रतिवेदन भित्र समिति समक्ष पेश गर्न निर्देशन दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा आइतबार पर्यटनमन्त्रालयमा बसेको बैठकले रुख कटानको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

सो बैठकले निजगढ विमानस्थल बनाउनका लागि ४ हजार २ सय ३२ वटा रुखहरु काट्नु पर्ने आंकडा निकाले छ । उक्त रुख विमानस्थलको निर्माण स्थल घेर्ने सडक बनाउन तोकिएको क्षेत्रमा काटिनेछ ।

रुख कटान-स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयले चाँडै मन्त्रिपरिषद्‍ समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

बैठकले २०७४ साल भदौ १९ गते विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण गर्न र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रुख कटानी गर्ने सम्बन्धमा नेपाली सेना र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको समझदारी पत्र मा उल्लेखित म्याद थप गरी सम्झौतामा उल्लेखित कार्यहरु अगाडि बढाउने निर्णय गरेको छ ।

यस्तै बैठकले लगानी बोर्डले निश्चित समय सीमा तोकी जुरिच इन्टरनेशनलसँग सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलको प्रस्ताव माग गर्ने र सम्झौता प्रकृया पूरा गर्ने समेत निर्णय गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मास्टर प्लान निर्माणको खरिद सम्झौता प्रकृया शीघ्र सम्पन्न गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here