मह जोडीलाई यो वर्षको बसुन्धराश्री–मानश्री

काठमाडौं, ७ बैशाख । वसुन्धरा—मान प्रज्ञाप्रतिष्ठान ले यो वर्षको बसुन्धराश्री र मानश्री पुरस्कार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानको शुक्रबार बसेको बैठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन योगदान गरी विश्व समुदायमा नेपाली भाषा, कला र रङ्गमञ्चको स्थान र पहिचान उच्च राख्न विशिष्ट योगदान गरेकोमा कलाकार तथा हास्यव्यङ्ग्यकार श्रेष्ठलाई वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कारको साथमा नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र हुनेछ ।

त्यसै गरी बैठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली कला र रङ्गमञ्चका क्षेत्रमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गरेका कलाकार तथा हास्यव्यङ्ग्यकार आचार्यलाई मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको साथमा नगद ५० हजार रुपैयाँ सहित सम्मानपत्र रहने छ ।

वि.सं. २००७ वैशाख ७ गते काठमाण्डौको जीतपुरफेदीमा जन्मेका श्रेष्ठ एवं वि.सं. २०१४ कार्तिक २७ गते काठमाण्डौको टंगालमा जन्मेका चार्यले संयुक्तरुपमा यमलोक, प्यारालाइसिस, अंशवण्डा, ककफाइट, रद्धीको टोकरी, रङ नम्वर, प्रश्नोत्तर, शपथग्रहण, ऐना, विज्ञापन, लण्डन एयरपोर्ट, वडा नं. १५, श्राद्ध, पिकनिक, अभिभावक, सङ्गीत, रिमोट कन्ट्रोल, नेपालबन्द, काउकुती, नाता, २०५, बोसे आन्द्रे भुँडीको, होस्टेहैँसे, सालिक, महदोहोरी र राष्ट्रिय गाउँखाने प्रतियोगिताजस्ता कालजयी हास्यव्यङ्ग्य सिर्जना गरी जीवन्त रङ्गमञ्चीय प्रस्तुति दिएका छन् ।

उनीहरुले वासुदेव, के घर के डेरा, लोभीपापी, ट्रक ड्राइभर, शत्रु गते र दालभात तरकारीजस्ता सफल नेपाली चलचित्रहरुमा अभिनय गरेका छन् भने फिप्टीफिप्टी, सन्तति, भकुण्डे भूत, दशैं, पन्ध्र गते, चिरन्जीवी, रात, वनपाले, सुरबेसुर, कान्तिपुर, राजमार्ग, पानी, कालाजार, असली लोग्ने, लक्ष्मी, लालपूर्जा, सृष्टि, जलपरी, भाइरस, टिकेको तीन मन्त्र र महचौतारीजस्ता लोकप्रिय नेपाली टेलिचलचित्रहरुको लेखन, अभिनय र निर्माण गरेका छन् ।