बुद्ध एयरको आकर्षक होलिडे प्याकेज सार्वजनिक

फाइलफोटो

काठमाडौं, ३० बैशाख । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोभिड–१९ पछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटकीय आकर्षक प्याकेज सार्वजनिक गरेको छ ।

सरकारले कोभिड–१९ को महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थानका लागि बिदा पर्यटनको अवधारणा अघि सारेको सन्दर्भमा बुद्धले पहिलो चरणमा काठमाडौँ, पोखरा र चितवनका पर्यटकीय गन्तव्यलाई आकर्षित गराउने योजना ल्याएको हो ।

बुद्ध एयरको भगिनी संस्था ‘बुद्ध होलिडेज’ मार्फत पोखरा, घान्द्रुक, धम्पुस र चितवनका केही होटलमार्फत साझेदारीमा पर्यटन प्रवद्र्धन गरिने कम्पनी आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

पर्यटन बिदाको सरकारी योजनालाई बुद्धको होलिडे प्याकेज सान्दर्भिक हुनसक्ने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सरकारले अघिसारेको बिदा पर्यटनलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बुद्धले सङ्क्रमणरहित र सुरक्षित होलिडे प्याकेज सञ्चालनका लागि साङ्गठनिक लिखित निर्देशिका तयार गरिसकेको छ । उडान र होलिडे प्याकेज सरकारको उडान सञ्चालन गर्न दिने निर्णयअनुसार आगामी जुन १ तारिखबाट बजार व्यवस्थापन गरी सञ्चालन गर्ने बुद्ध एयरले जनाएको छ ।

बुद्धको होलिडे प्याकेजअन्तर्गत पोखराको २ दिन पर्यटकीय प्याकेज होटल र उडानसहित ५ हजार ९९९ तिर्नुपर्ने हुन्छ । त्यस्तै चितवनको २ दिन पर्यटकीय प्याकेज होटल र उडानसहित १३ हजार ९९९ रहेको छ । यो सेवामा विमानस्थलदेखि होटल र विमानस्थलसम्म सवारी साधनको व्यवस्था हुनेछ ।

प्रबन्ध निर्देशक बस्नेतले विदेशी पर्यटकलाई विश्वास दिलाउन पनि आन्तरिक पर्यटकीय गन्तव्य सुरक्षित रहेको सन्देश प्रवाह गर्न युद्धस्तरमा मुख्य पर्यटकीय गन्तव्यमा पर्यटकीय गतिविधि बढाउन जरुरी भएको बताए ।

उनले भने, ‘आगामी अक्टोबर महिनादेखि आन्तरिक पर्यटनमा चहलपहल बाक्लिन्छ भन्ने हाम्रो विश्वास छ, त्यसैले कोभिडपछिको पर्यटन प्रवद्र्धनका लागि उत्साहित भएर लाग्ने निर्णयका साथ बजारीकरणलाई तीव्रता दिन्छौँ ।’

बुद्धले कोभिड–१९ को महामारीसँग कर्मचारी र यात्रुलाई सुरक्षित राख्ने हिसाबले सुरक्षा निर्देशिका जारी गरिसकेको छ । सामान्य अवस्थामा पोखरा र चितवनमा ३० प्रतिशत काठमाडौँका आन्तरिक पर्यटकले ओगट्ने गरेको व्यावसायिक आँकडा रहेको बुद्धले जनाएको छ ।

कम्पनीले निकट भविष्यमै चीन र भारतीय पर्यटकलाई यस्तै उदाहरण देखाइ ठूलो सङ्ख्यामा भित्र्याउन सक्ने विश्वास लिएको छ । यी दुई मुलुकबाट वर्षेनी १४ करोडभन्दा बढी पर्यटक विदेश घुम्न जाने गरेको बताइन्छ ।

बुद्धको होलिडे प्याकेजअन्तर्गत पोखराको दुई दिन पर्यटकीय प्याकेज होटल र उडानसहित रु पाँच हजार ९९९ तिर्नुपर्ने हुन्छ । त्यस्तै चितवनको दुई दिन पर्यटकीय प्याकेज होटल र उडानसहित रु १३ हजार ९९९ रहेको छ । यो सेवामा विमानस्थलदेखि होटल र विमानस्थलसम्म सवारी साधनको व्यवस्था हुनेछ ।

एकजना पनि कर्मचारी कटौती गर्दैनौँ

बुद्धले कोभिड–१९ को प्रभावले आफ्ना कर्मचारीलाई तलब सुविधामा कुनै समस्या नपर्ने र कुनै पनि कर्मचारीको कटौती नगर्ने जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक बस्नेतले आफ्नो २३ वर्षे उडान यात्रामा भविष्यको सम्भावित जोखिमलाई ध्यान दिएर कम्पनीले सोहीअनुरुपको रणनीतिअन्तर्गत आर्थिक व्यवस्थापन गरेकाले अझै ६ महिनासम्म कर्मचारीलाई तलब खुवाउन कुनै समस्या नहुने बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here