जापान उड्दै नेपाल एयरलाइन्स

काठमाडौं, ११ जेठ । नेपाल वायु सेवा निगमको वाइडबडी ए-३३० विमान आज जापानको नारितामा चौथो पटक चार्टर्ड उडान गर्दैछ।

लकडाउनका कारण नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि विमान चार्टर्ड गरिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज राति ९ बजे निगमको विमान नारिता अन्तर्राष्ट्रिय विमानस्थलका उड्ने तालिका रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए।

लकडाउन लागू भएयता निगमको नारिताका लागि यो चौथो पटकको चार्टर्ड उडान हो। यसअघि ९ जेठमा निगमको वाइडबडी विमान १९७ नेपालीसहित २६८ यात्रु नारिता गएको थियो।

त्यस्तै २८ चैत र २ जेठमा पहिलो र दोस्रो चार्टर्ड उडान भइसकेको छ।

निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार जापानको नारिताको आज चौथोपटकको उडानका लागि २६० भन्दा बढी यात्रुको बुकिङ छ ।

नेपाल एयरलाइन्सले गत १९ फागुनबाट जापानको नारितामा सिधा उडान सेवा शुरु गरेको थियो। कोभिड-१९ महामारीको जोखिमका कारण हाल नियमित उडानहरू बन्द छन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here