काठमाडौं, १२ जेठ । दक्षिण एशियाली देशहरुमा भारत कोरोनाको विश्वकै नयाँ इपिसेन्टर बन्दै गएको छ । पछिल्लो दिनमा भारतमा औसतमा दैनिक ६ हजारभन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।
भारत अहिले विश्वकै धेरै संक्रमित भएको देशको दशौं स्थानमा पुगेको छ । अहिलेसम्म भारतमा १ लाख ३८ हजारभन्दा बढी संक्रमित भएका छन् भने ४ हजार २४ जनाको मृत्यु भइसकेको छ भने ५७ हजारभन्दा बढी निको भएका छन् ।
कोरोनाको संक्रमण फैलिन नदिन भारतले पनि डेढ महिनादेखि लक डाउन लागू गरेको छ । संक्रमण फैलिँदै गएपछि अहिले भारतको अवस्था झन जटिल बन्दै गएको छ ।
यद्यपि पछिल्ला दिनमा भारतले आर्थिक गतिविधि भने बढाउँदै लगेको छ । भारतले रेल सेवा, सार्वजनिक यातायात र आन्तरिक हवाइ सेवा सञ्चालनमा ल्याइसकेको छ ।