कोरोना बीमालेख: धेरै पोलिसी बिक्री गर्ने शिखर इन्स्योरेन्स, कुनले कति गरे ?

काठमाडौं, १२ जेठ । विश्वमा बढ्दो कोरोना भाइरसको संक्रमणसँगै कोरोना बीमालेख प्रति मानिसको आर्कषण देखिएको छ ।

बीमा समितिको निर्देशनमा निर्जीवन बीमा कम्पनीहरुले बैशाख ७ गतेबाट विक्री शुरु गरेको कोरोना बीमालेखा आइतबार साँझसम्म कुल १ लाख ९७ हजार ७ सय १ जना सहभागी भएका छन् ।

बीमा समितिका अनुसार १५ हजार ६ सय ८३ बीमालेख मार्फत् उक्त बीमा गरेका हुन् । त्यसबाट १० करोड २६ लाख ५३ हजार १५ रुपैयाँबीमा शुल्क संकलन भएको छ ।

हाल सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना पोलिसी जारी गरेकामा धेरै पोलिसी बेच्नेमा शिखर इन्स्यारेन्सले बेचेको छ । शिखरले ४ हजार १०४ पोलिसीमार्फत ३८ हजार २५४ जनाको कोरोना बीमा गराएको छ ।त्यसबापत २ करोड ९ लाख ३ हजार ७०० बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, व्यक्तिको आधार नेशनल इन्स्योरेन्सले सबैभन्दा कम २ हजार ३५ जनाको बीमा गराएको छ । पोलिसिका आधारमा भने सरकारी स्वामित्वको राष्ट्रि बीमा कम्पनीले सबैभन्दा कम १९ ओटा मात्र पोलिसि बेचेको छ ।

आइतबार मात्रै १ हजार ६६ बीमालेखमार्फत् ८ हजार ७ सय ९५ जनाले त्यस्तो बीमा गर्दा ४९ लाख ८२ हजार रुपैंया बीमा शुल्क संकलन भएको समितिले जनाएको छ ।

शनिबार १ सय २६ बीमालेख मार्फत् १ हजार २ सय ३९ जनाले बीमा गर्दा ७ लाख ३९ हजार प्रिमियम संकलन भएको थियो । शुक्रबार भने एकैदिन १९ हजारले बीमा गर्दा १ करोड २ लाख रुपैंया प्रिमियम संकलन भएको थियो ।

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएसँगै विभिन्न कम्पनीहरुले समेत आफ्ना कर्मचारीको सामूहिक रुपमा बीमा गर्न थालेपछि पोलीसी किन्नेको संख्या बढेको समितिको भनाइ छ ।

बीमा समितिले कोरोनाको बढ्दो जोखिमलाई मध्येनजर गर्दै यो पोलिसी ल्याएको थियो । समितिले कोरोना पाजेटिभ देखिन साथ भुक्तानी गर्ने गरी २ किसिमका पोलिसी ल्याएको छ । जसमा १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख छ।

१ लाख रुपैयाँ बराबरको व्यक्तिगत बीमा गर्दा प्रति व्यक्ति १ हजार रुपैयाँ र सम्पूर्ण परिवारको सदस्यको समेत समावेश गरेमा प्रतिव्यक्ति थप ६०० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ ।

यस्तै ५० हजार रुपैयाँ कुल बीमांक रकमको लागि प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारको सम्पूर्ण सदस्यको बीमा गर्दा ३०० रुपैयाँ बीमा शुल्क तिर्नु पर्छ ।

बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बिमा रकम प्राप्त गर्न सकिनेछ ।

कसरी पाइन्छ भुक्तानी ?

बीमा समितिले कोरोना लागेको पीसीआर परीक्षणमा पोजेटिभ देखिने बित्तीकै बीमा दाबी भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ ।

दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।

यसरी बीमा पोलेसी किनेका मानिसको कोरोना भाइरस संक्रमण पुष्टी भएको खण्डमा बीमा कम्पनीले १ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने छ ।

त्यसको लागि कुनै किसिमको भौचर वा बिलको आवश्यकता पर्ने छैन । बीमितको कोरोना पोजेटिभ भएको प्रमाणित भएको कागज भए दाबी भुक्तानी हुने छ ।

कोरोना बीमामा कडाइ, विदेशबाट फर्किएकालाई बीमालेख खरीद गर्न नयाँशर्त