होम सर्भिसले ल्यायो ‘क्याश क्विज’ एप, घरमै बसेर नगद उपहार जित्न सकिने

काठमाडौं, १४ जेठ । लकडाउनका बेला घरमै बसेर ज्ञान बढाउन र नगद उपहार जित्न सकिने क्याश क्वीज एप सार्वजनिक गरिएको छ ।

होम सर्भिस नेपालले इनोभेशन वेभ ग्रुपसँगको सहकार्यमा विकास गरेको सो एपले लोकसेवा तयारी गर्नेहरुलाई मात्र नभई सबैलाई उपयोगी हुने बताइएको छ ।

लकडाउनमा घरमा बसिरहेकाहरुलाई मनोरन्जन, ज्ञानको साथमा ‘क्विज खेलौं नगद जितौं’ योजनासहित मोबाइल एप संचालनमा ल्याइएको होम सर्भिस नेपालका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले जानकारी दिए ।

लकडाउनका कारण विद्यालय तथा कलेज जान नपाएका विद्यार्थी, लोकसेवाको तयारी गरिरहेकाहरु लगायत आम मानिसलाई एप उपयोगी हुने श्रेष्ठको भनाइ छ ।

क्यास क्विजमा सहभागी भएर जितेको नगद उपहारले मोवाइल टपअप गर्न सकिने छ । एपमा प्रश्नोत्तर खेलका आधारमा एकपटकमा १ हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म जित्न सकिने छ । केही समय पश्चात नगद उपहारको सीमा ५० हजार रुपैयाँसम्म पुर्याउने तयारी भैरहेको श्रेष्ठले जानकारी दिए ।

विशेष गरी लोक सेवा आयोगको तयारी गरिरहेकाहरुलाई लक्षित गरेर बनाइएको यो मोबाइल एप लकडाउनका बेला लोकप्रिय बन्दै गएको पनि कम्पनीले बताएको छ ।
हाललाई गूगल प्लेमा मात्र उपलब्ध यो एप २ सातामा १५ हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् ।

विद्यालय तथा कलेजका विद्यार्थीकोहरुको सहभागिता धेरै बढेको इनोभेसन वेब ग्रुपका प्रबन्ध निर्देशक दिपेश बर्तौलाले जानकारी दिए । उनका अनुसार क्यास क्विजको युट्युब च्यानलमा राखिएका क्वीज सम्बन्धि भिडियोमा अधिकांस प्रश्नोत्तरलाई समेटिएको छ । च्यानलको भिडियो हेर्नेहरुलाई क्वीजमा सहभागी हुन धेरै सहज हुने उनले बताए ।

हरेक दिन साँझ ५ बजे र ९ बजे सञ्चालन हुने लाइभ गेममा सहभागी हुनेहरुले मात्र नगद उपहार जित्न सक्ने छन् । अन्य समयमा प्राक्टिस मोडमा क्वीज गेम खेल्न सकिनेछ ।

क्यास क्विज एप प्रयोग गर्न इन्टरनेट कनेक्सन अनिवार्य गरिएको छ । लाइभ क्वीज गेम सुरु हुने समयमा एप खोलेर सहभागिता जनाउनु पर्ने हुन्छ । सहभागी भएको केही बेरमा खेल सुरु हुन्छ । खेल सुरु हुने समयसम्ममा खेलमा सहभागी नभएकाहरुले अर्को पटक मात्र खेल खेल्न सक्छन् । तर प्राक्टिस मोडमा कुनै पनि समयमा खेल्न सकिन्छ ।

अहिले दिनको २ पटक सञ्चालन हुने लाइभ गेममा क्यास क्विजले सोधेको प्रश्नको जवाफ दश सेकेन्ड भित्र दिनु पर्ने हुन्छ । जवाफ नआएमा लाइफ लाइनको समेत प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । १० वटा प्रश्न सोधिने एक खेलमा आठौं प्रश्नसम्म २ पटक लाइफलाइन प्रयोग गर्न सकिन्छ ।

क्यास क्विजले सोधेका दश वटै प्रश्नको सही जवाफ दिने व्यक्तिलाई विजेता घोषणा गरिनेछ । दुई वा दुई भन्दा बढी सहभागीले दश वटै प्रश्नको सहि जवाफ दिएमा तोकिएको नगद उपहार दामासाहीले सबैलाई बराबर बितरण गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here