कृषि कर्जा २२.२ प्रतिशतले वृद्धि, सबैभन्दा बढी पशुपालनमा

काठमाडौं, १४ जेठ । पछिल्लो समय नेपालको कृषि क्षेत्रमा कर्जा र लगानी दुवै वृद्धि भएको छ । कृषि क्षेत्र विस्तारै आधुनिकीकरण र व्यावसायीकरणतर्फ उन्मुख भएपछि यो क्षेत्रमा ऋण लगानी ह्वात्तै बढेको हो ।

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक सवेक्षणअनुसार कृषिको खेतीपातीसम्बन्धी सेवा, पशुपालन तथा पशुपालनसम्बन्धी सेवा, कृषि तथा कृषिजन्य सेवालगायतका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी बढ्दै गएको हो ।

अघिल्लो वर्षको तुलनामा यस्तो कर्जा २२.२ प्रतिशतले वृद्धि भएको छ ।

कृषि कर्जामध्ये सबैभन्दा बढी पशुपालनमा छ । २०७५ फागुनसम्म कुल कृषि कर्जा १ खर्ब ८० अर्ब ४२ करोड रुपैयाँ परिचालन भएकोमा २०७६ फागुनसम्म यस्तो दुई खर्ब ४३ अर्ब रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

पशुपालनको कर्जा अनुपात ३७.०६ प्रतिशत छ भने खेतीपाती सम्बन्धी कर्जाको अनुपात १५.९ प्रतिशत र अन्य कृषिजन्य सेवाको अनुपात ४६.५ प्रतिशत छ ।

२०७६ फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट २६ अर्ब ९७ करोड बराबरको कृषि कर्जा प्रवाह भएकोमा पशुपालनतर्फ मात्र १६ अर्ब २२ करोड रुपैयाँ प्रवाह भएको छ । त्यस्तै खेतीपातीका लागि ५ अर्ब २४ करोड र अन्य कृषिजन्य सेवाका लागि ५ अर्ब ५१ करोड कर्जा प्रवाह भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here