काठमाडौं-तराई मधेस द्रुतमार्गको काम दोस्रो चरणमा, भौतिक प्रगति ११.११ प्रतिशत

काठमाडौं, १५ जेठ । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई, मधेस द्रुतमार्ग तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेको छ ।

२०८०/८१ मा सक्ने लक्ष्य राखिएकोमा द्रुतमार्ग कोरोनाको कारण केहि समय धकेलिने अनुमान गरेपनि सेनाले भने समयमा सक्नेगरि काम अघि बढाएको जनाएको हो ।

द्रुतमार्ग निर्माणका काम दोस्रो चरणमा चरणमा प्रवेश गरेकोले यसको निर्माण कार्य तीव्ररुपमा अघि बढेको हुनाले लक्षित समयभित्र पारदर्शी र गुणस्तरिय हिसाबले पुरा हुने सेनाको दाबी छ ।

सेनाका अनुसार, द्रुतमार्ग आयोजनामा अहिलेसम्मको भौतिक प्रगति ११.११ प्रतिशत र वित्तीय प्रगति ९.१० प्रतिशत मात्र रहेको छ। द्रुतमार्ग परियोजनामा तीनवटा सुरुङ र साना-ठूला गरी ८७ वटा पुल निर्माण हुनेछन्।

तीमध्ये १७ वटा पुल विशेष प्रकृतिका रहने छन्। कुल साढे ७२ किलोमिटरको हुने यो द्रुतमार्गअन्तर्गत सडक ५५.५ किमि, सुरुङमार्ग ६.४१ किमि र पुल १०.५९ किमि पर्नेछ ।

यसको निर्माणमा हाइब्रिड प्रविधिका आधारमा ठेक्का लगाएर काम शुरु गर्ने योजनामा सेना छ । इपीसी, डिजाइन एण्ड बिल्डलगायत प्रक्रियाबाट यो निर्माण गर्न लागिएको छ।

सेनाका अनुसार, समयमै काम सक्नका लागि आयोजनालाई ११ वटा खण्डमा विभाजन गरेर समग्र योजना बनाएर निर्माण अघि बढाउन लागिएको छ। जसमा सेना र अन्तर्राष्ट्रिय परामर्शदाता एकसाथ सँगै भएर काम गर्नेछन्।

नेपाली सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डेले नेपाल सरकारले निर्देश भएअनुसार द्रतमार्ग बिशेष महत्वको रहेको भन्दै यसको निर्माण कार्य तीव्ररुपमा अघि बढेको र लक्षित समयभित्र पारदर्शी र गुणस्तरिय हिसाबले पुरा हुने बताए ।

हालै सम्पन्न गरिएको अन्तराष्ट्रिय परामर्शदाता छनौट कार्यपनि अधिक प्रतिष्पर्धाका साथ स्वच्छता, पारदर्शीताका साथ विद्यमान ऐन कानूनको परिधिभित्र बसेर गरिएको उनले बताए । आगामी आर्थिक बर्षबाट सुरुङमाग निर्माण हुने जानकारी पनि उनले दिए ।

त्यस्तै सेनाले आगामी जुन र जुलाईमा कोरोना भाइरसको संक्रमित बढ्ने अनुमान गर्दै आधारमा रोकथाम, नियन्त्रण र उपचारका गतिविधि अघि बढाएको जनाएको छ । प्रवक्ता पाण्डेले जुन र जुलाईमा संक्रमितको संख्या बढ्ने अनुमान गरिएसँगै त्यसका लागि तयारी पनि अघि बढाएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here