घरमै यसरी बनाउन सकिन्छ पनिरको स्वादिलो परिकार

काठमाडौं । पनिर एउटा स्वादिष्ट पौष्टिक पदार्थ हो । मटर पनिर नेपालीहरुको प्रिय परिकार हो।

सामन्य दिन देखि ठूला भोज भतेरमा पनिरको परिकार बनाउने गरिन्छ। शाकाहारीको पहिलो रोजाइ नै पनिर बन्ने गर्छ।

पार्टी सानो होस् वा ठूलो पनिरले हरेक पार्टीको शोभा बढाउँछ । पनिर क्रिमयुक्त दूधबाट बन्छ भने यसमा चिल्लोको मात्रा प्रशस्त हुन्छ ।

पनिर कसरी बनाउने ?

पसलहरूमा तयारी पनिर पाइन्छ भने घरमै आफैले पनि ताजा पनिर बनाउन सकिन्छ । राम्रो र नरम पनिर दूध फटाउने तरिकामा निर्भर गर्छ । राम्रो पनिर बनाउन सधै ताजा दूध प्रयोग गर्नुपर्छ ।

एक लिटर ताजा दूध उमाल्ने । दूध उम्लिएपछि आगोको आँच कम गर्ने । दूधमा एउटा कागतीको रस निचोरिदिने र दूधलाई बिस्तारै-बिस्तारै चलाउने ।

जब दूध पूर्णरूपले फाट्छ, त्यसपछि आगोबाट दूधलाई हटाउने र एउटा सफा मलमलको कपडाले छान्ने । फाटेको दूधबाट निस्किएको पानी कुनै भाँडोमा जम्मा हुन्छ र कपडामा बाँकी भएको ठोस पदार्थ रहन्छ । त्यसलाई छेना भनिन्छ ।

उक्त छेनामा एक गिलास चिसो पानी हाले पनिर मुलायम हुन्छ । छेना हालिएको कपडाबाट पानी तर्किएपछि त्यसलाई कुनै भारी वस्तुले चिथिदिने । १०-१५ मिनेटपछि तयार पनिरलाई सुविधाअनुसार टुक्रा पार्ने र प्रयोगमा ल्याउने ।

दूध फटाउन कागतीबाहेक अमिलो दही, साइट्रिक एसिड, सिरका वा पनिरको पानी पनि प्रयोग गर्न सकिन्छ । एक लिटर दूधका लागि एक ठूलो चम्चा सिरकालाई डेढ कप पानीमा मिसाएर प्रयोग गर्नुपर्छ ।

दूध फटाउन १-२ कप अमिलो दही पनि प्रयोग गर्न सकिन्छ । साइट्रिक एसिडले दूध फटाउनुपरे सानो चम्चा एक लिटर दूधका लागि पर्याप्त हुन्छ । साइट्रिक एसिडलाई पनि १-२ कप पानीमा घोलेर दूधमा मिसाउनुपर्छ ।


यसरी बनाउने स्वादिलो पनिर ग्रेभी

पनिर- २ सय ग्राम (बर्गाकार काटेको)

बटर- एक ठूलो चम्चा

जीरा-चुट्कीभर

गोलभेडा- चार वटा मध्यम आकारको (काटेको)

ताजा क्रिम- चार कप

नुन- स्वादअनुसार

टमटर सस- २ ठूलो चम्चा

खुर्सानी पाउडर- १ चम्चा

पनिर मसला पाउडर- १ चम्चा

कसरी बनाउने ?

– कराही तताउने, त्यसमा बटर हाल्ने ।

– बटर पग्लिएपछि जीरा हाल्ने ।

– अब त्यसमाथि गोलभेडा हाल्ने र राम्ररी मिलाउने ।

– गोलभेडा उम्लिन थालेपछि त्यसमा क्रिम मिलाउने ।

– अब सस र नुन मिसाएर राम्ररी घोल्ने । त्यसलाई १० मिनेटसम्म पाक्न दिने । बेला बेला चलाउन भुल्न हुँदैन ।

– अब खोर्सानी पाउडर, पनिर मसला हालेर राम्ररी मिसाउने ।

– त्यसमाथि टुक्रा पारेको पनिर हाल्ने ।

एजेन्सी