भूकम्पले भत्काएका ८० प्रतिशत घर पुननिर्माण

काठमाडौं, १० बैशाख । वि. सं. २०७२ को विनाशकारी भुकम्पमा परि भत्किएका घरमध्ये ८० प्रतिशतको पुननिर्माण सम्पन्न भएको छ ।

भुकम्प गएको करीब ८ महीनापछि स्थापना भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले मंगलबार एक पत्रकार सम्मेलन आयोजना गरी निजी आवास पुननिर्माणलाई प्रथमिकतामा राखेर काम गरेको जानकारी दिएको छ ।

‘निजी आवास पुनर्निर्माणमा समग्रमा ८० प्रतिशत उपलब्धी हासिल गरेका छौं अर्थात अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ घर परिवार मध्ये ६ लाख १२ हजार ९ सय ३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा हुनुहुन्छ,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशील ज्ञवालीले भने ।

त्यसमध्ये ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार परिवारले घर पुनर्निर्माण सम्पन्न गरेका छन् भने ३० प्रतिशत अर्थात २ लाख ३० हजार परिवार घर पुनर्निर्माणका क्रममा छन् ।

निजी आवास, शैक्षिक संस्था, स्वास्थ्य संस्था, पुरातात्विक सम्पदा, सुरक्षा निकायका भवन, सरकारी भवन, सडक, खानेपानी जस्ता संरचनाहरुको पुनर्निर्माणलाई प्राथमिकतामा राख पनि निजी आवासको पुनर्निर्माणलाई सबैभन्दा प्राथमिकता दिइएको ज्ञवालीको भनाइ थियो ।

त्यसैगरी, भूकम्पबाट ७ हजार ५ सय ५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको छ, जसमा ५९ प्रतिशत अर्थात ४ हजार ४ सय ७६ को पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ७ सय ७२ विद्यालय पुनर्निर्माणको क्रममा छन् ।

यस्तै स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल गरेको प्राधिकरणले जनाएको छ जसमा ५४ प्रतिशत अर्थात ६ सय ४३ को पुनर्निर्माण सम्पन्न भएको छ भने १२ प्रतिशत अर्थात १ सय ४५ पुनर्निर्माणको क्रममा छन् ।

पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणमा ५९ प्रतिशत प्रगति भएको ज्ञवालीले जानकारी दिए । २ सय २४ वटा अर्थात ३० प्रतिशतको पुननिर्माण सम्पन्न भएको र २ सय २१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको उनको भनाइ छ ।

‘पुनर्निर्माणका क्रममा उठेका मुद्दाहरुलाई सम्बोधन गर्दै रानीपाखेरी, धरहरा, काष्ठमण्डप लगायत काठमाडौं उपत्यका भित्रका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदाहरुको पुनर्निर्माण द्रुत गतिमा अघि बढाइएको छ ।

गुम्बाहरु पुनर्निर्माणको लागि कार्यविधि तय गरी डिजाइन कार्य भइरहेको छ । केही समयपछि गुम्बाहरुको पनि पुनर्निर्माण सुरु गर्नेछौं,’ उनले भने ।

त्यसै गरी सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत र सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत प्रगति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here