स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी, के हो स्वास्थ्य संकटकाल ?

काठमाडौं, २२ जेठ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।

सरुवा रोगको सङ्क्रमण २ हजार भन्दा माथी गएको अवस्थामा स्वास्थ्य सङ्कटकाल घोषणा गर्न सक्ने प्रावधान अनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णयपछि स्वास्थ्य संकटकाल घोषणाका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगेका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य संकटकाल घोषणा गर्न प्रस्ताव गरेको तर स्वीकृत भइनसकेको जनाए ।

सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गर्नेछ ।

संक्रामक रोग ऐन २०२० अनुसार संकटकाल आदेश जारी गर्न अधिकारी तोक्नुपर्ने पनि व्यवस्था छ । सोही अनुसार स्वास्थ्य मन्त्रालयका सचिवलाई तोक्न पनि मन्त्रालयले प्रस्ताव गरेको छ ।

त्यस्तै मन्त्रालयले स्वास्थ्य सहायता लिने कार्यविधि बनाउने र स्वीकृत गर्ने प्रावधान अनुसार त्यसको मापदण्ड बनाएको छ । जसमा मापदण्ड, मर्मतसम्भार, वितरण र भन्सार छुटमा सहजीकरण गर्नेछ ।

रोग वा संक्रमण फैलिएको कारणले धेरै जनधनको क्षति हुने जोखिम बढेपछि जनस्वास्थ्य संकटकाल घोषणा गरिन्छ।

अन्तर्राष्ट्रिय रुपमा जनस्वास्थ्य संकटकाल घोषणा गर्न थालिएको १५ वर्ष मात्र भएको छ। नेपालमा बिहिवार सम्म २६३० जनामा कोरोना भइसकेको छ । १० जनाको ज्यान गइसकेको छ । २९० निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here