विदेशमा रहेका नेपालीको उद्दारमा सहयोग गर्न संयुक्त राष्ट्र संघ इच्छुक

काठमाडौं, २९ जेठ । कोरोनाभाइरस (कोभिड–१९) बाट विदेशमा अलपत्र परेका नेपाली श्रमिकको समस्यालाई लिएर गैरआवासीय नेपाली संघले संयुक्त राष्ट्र संघमा छलफल गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीका अनुसार राष्ट्र संघअन्तरगतको इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसन (आइएमओ) सँग संघका अध्यक्ष कुमार पन्तसहितको टोलीले छलफल गरेको हो ।

बुधवार भिडियो कन्फ्रेन्समार्फत भएको छलफलमा राष्ट्र संघअन्तर्गत नेपाल मिसनकी प्रमुख लोरेना लान्डाले आइएमओ विदेशमा रहेका नेपालीको उद्दारका लागि सहयोग गर्न इच्छुक रहेको जानकारी दिएकी थिइन ।

लान्डाले कोरोना भाइरसको संक्रमणका कारणले नेपाल फर्किएका नेपालीलाई विमानस्थलबाट होल्डिङ्ग सेन्टरसम्म लैजानसमेत सहयोग गर्न सकिने बताएकी छन् ।

आइएमओले विश्वभरिका माइग्रेन्ट श्रमिकका लागि सहयोग गर्दै आएको स्मरण गर्दै उनले नेपाल सरकार र गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको संघले जानकारी दिएको छ ।

झन्डै दुई घन्टा लामो छलफलमा गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ र कोभिड–१९ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

झन्डै ८० लाख नेपाली विदेशमा रहेको बताउँदै डा. शर्माले आइएमओ र संघबीच धेरै समान अजेन्डा रहेको बताएका थिए ।

उनले आइएओसँग नेपाल फर्किएका श्रमिकको पुनस्र्थापना, कार्य क्षमता संकलन लगायत अन्य धेरै विषयमा संयुक्त रुपमा काम गर्न सकिने बताएका थिए ।

बैठकमा सांसद गंगालाल तुलाधारले कोभिड–१९ ले नेपालमा पारेको प्रभावको विषयमा जानकारी गराएका थिए । संघअन्तरगतको एनआरएनए फाउन्डेशन परियोजना प्रमुख एकनाथ खतिवडाले बैठकको समन्वयन गरेका थिए ।

गैरआवासीय नेपाली संघका अनुसार आइएमओ प्रमुख लान्डाले तत्काल दुई संस्थाबीच समाधान धारणा तय गरी सम्झौता (एमओयु) गरेर अघि बढ्न सकिने बताएकी थिइन ।

नेपालले सन २००६ मा इन्टरनेश्नल अर्गनाइजेशन फर माईग्रेसनको सदस्यता लिएपछि सो संस्था सन २००७ देखि नेपालमा आप्रवासीहरुको हक र हितको लागि सक्रिय छ ।

आइएमओले नेपालमा २०७२ मा भूकम्प गएको बेला देशका विभिन्न भागमा स्वास्थ्य शिविर सञ्चालन गरेर पीडितलाई सहयोग गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here