ठूला लगानीकर्ताको संयुक्त लगानीमा ‘स्टक डिलर’ स्थापनाको तयारी

काठमाडौं, १२ वैशाख । सेयर बजारमा आउने अस्वभाविक उचारचढाव व्यवस्थापनका लागि ‘स्टक डिलर’ स्थापना गरिने भएको छ ।

नागरिक लगानी कोषको नेतृत्वमा कर्मचारी संचय कोष, नेपाल टेलिकमलगायत ठूला संस्थागत लगानीकर्ताको संयुक्त लगानीमा स्टक डिलर स्थापना गरिन लागेको हो । यो सँगै मार्केट मेकर चर्चा हराएको छ ।

नागरिक लगानी कोषले धेरै पहिले देखि नै ‘मार्केट मेकर’ स्थापना गर्ने बताउँदै आएको थियो । त्यसका लागि प्रक्रिया पनि अघि बढेको थियो । अहिले ‘मार्केट मेकर’ को अवधारणा’ त्यागेर ‘स्टक डिलर’ तिर लागिएको हो ।

स्टक डिलरको काम ठूलो मात्रामा सेयर खरिद विक्री गर्ने हो । यसो हुँदा बजारमा अस्वभाविक उतारचढाव आउन पाउँदैन । बजारलाई स्थायित्व दिन स्टक डिलर स्थापनाको तयारी भएको नागरिक लगानी कोषले जनाएको छ ।

स्वदेशी तथा विदेशी परामर्शदाताको सुझाब अनुसार स्टक डिलरको अवधारणा अघि बढाइएको कोषले जनाएको छ । यसअघि भएका विभिन्न अध्ययन प्रतिवेदनमा पनि मार्केट मेकरको सट्टा स्टक डिलर स्थापना गर्नुपर्ने सुझाब दिएका थिए ।

‘यसबारेमा संचयकोष लगायत केही संस्थागत लगानीकर्तासँग अनौपचारिक छलफल भइरहेको छ,’ स्रोतले भन्यो, ‘अब औपचारिक रुपमै छलफल सुरु गछौं ।’ डिलरको पुँजी न्यूनतम एक अर्ब रुपैयाँ हुने र त्यसमा बहुसंख्यक सेयर कोषको हुने छ ।

सरुमा नागरिक लगानी काषले सहायक कम्पनीको रुपमा स्टक डिलर स्थापना गर्ने योजना बनाएको थियो । उक्त योजनामा अर्थमन्त्रालय सकारात्मक नभएपछि संयुक्त लगानीको कुरा अघि बढेको हो ।

पछिल्ला वर्षमा नागरिक कोषले अपेक्षित रुपमा कार्यसम्पादन गर्न सकेको छैन । भएको संस्था पनि राम्रोसँग चलाउन नसकिरहेको अवस्थामा नयाँ जन्माउदा झनै समस्या हुने भन्दै अर्थले रोकेको बुझिएको छ । त्यसपछि कोषले आफ्नो नेतृत्वमा संयुक्त लगानीको स्टक डिलरको प्रक्रिया थालेको हो ।

यो संस्थाको स्थापना पछि बजारमा स्थायीत्व आउने जानकारहरु बताउँछन् । नयाँ वर्षको सुरुवातसँगै सेयर बजार निरन्तर उकालो लागिरहेको छ । बुधबार पनि यो क्रमले निरन्तरता पाएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्ता उत्साहित देखिएका छन् । बजारमा दिनानु दिन कारोबार रकममा उल्लेख्य बढोत्तरी हुनुले पनि लगानीकर्ताको मनोवल बढेको पुष्टी हुने धितोपत्र ब्रोकरहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here