जरिवानावापत एक करोड ६५ लाख राजश्व संकलन, उपत्यकाभित्र धेरै कारवाही

काठमाडौं, १ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ ।

अनुगमनको क्रममा सरकारले अत्यावश्यक सेवामा राखेर सञ्चालन गर्न दिएका फर्मबाट नै बन्दाबन्दीको मौका छोपी कालोबजारी गर्ने बढी कारबाहीमा परेका छन् ।

विभागका तथ्यांकअनुसार अनुगमनको क्रममा सुपरमार्केट, औषधि, खाद्य उद्योग, खाद्यान्न पसल, ग्यास पसल, पेट्रोल पम्प, अस्पताल, तरकारी तथा फलफूल पसल, दुग्धजन्य पदार्थको पसल, अनलाइन सपिङ, माछा तथा मासु पसल, सर्जिकल सप्लायर्सलगायत फर्मलाई कारबाही गरेको हो ।

उक्त कारबाहीबाट एक करोड ६५ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ। उक्त रकम गत चैत ११ देखि जेठ २८ गतेसम्म अनुचित व्यापारिक कारोवार गर्ने पसललाई कारवाहीस्वरुप गरिएको जरिवाना हो ।

सो अवधिमा काठमाडौं उपत्यका र अन्य जिल्लामा अनुगमन गर्दा १६२ पसललाई कारवाहीस्वरुप जरिवाना गरिएको विभागले जनाएको छ।

अन्य जिल्लाका तुलनामा सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्र सञ्चालन गरिएका फर्म नै कारवाहीमा परेका छन्। बन्दाबन्दीको समयमा खाद्यान्न, मास्क, ग्यासको अभाव र मूल्य वृद्धिका गुनासो बढी आएका छन् । बन्दाबन्दीको शुरुका सातामा ग्यास र मास्ककोे अभावको गुनासो बढी आए पनि अहिले यस्ता गुनासा कम आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here