म्याच फिक्सिङ मुद्दामा सागर थापासहित सबैले पाए सफाइ

काठमाडौं, २ असार । म्याच फिक्सिङ मुद्दामा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापा, अन्य खेलाडी र एक फिजियोथेरापिष्टसहित ६ जनाले सर्वोच्च अदालतबाट पनि सफाई पाएका छन् ।

सरकारी पक्षले २०७५ मंसिर २० गते सर्वोच्चमा गरेको पुनरावेदनमा मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो।

राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाविरुद्ध म्याच फिक्सिङको आरोप लागेको थियो।

फुटबलमा खेल मिलेमतोको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ४ फुटबलरलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो। विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो।

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।