नुनदेखि सुनसम्मका १० नयाँ खानी सञ्चालन गर्ने तयारी, एउटै नगरपालिकामा तीन खानी

काठमाडौं, ३ असार । खानी तथा भूगर्भ विभागले १० नयाँ खानीको सञ्चालन गर्ने तयारी थालेको छ । विभागले बुधबार प्रकाशन गरेको सूचनाअनुसार लाइसेन्स खुला गरिएका १० खानीमा नुनदेखि सुनसम्मका डिपोजिट रहेका छन् ।

रोल्पाको सुनछहारी गाउँपालिकामा सुनखानी सञ्चालनका लागि लाइसेन्स खोलिएको छ । त्यहाँको फुलिबन र धन्पुटार क्षेत्रमा सुनखानी रहेको बताइएको छ ।

विभागले लाइसेन्स खुला गरेका खानीमा सबैभन्दा बढी तामाका रहेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका, मकवानपुरको थाहा नगरपालिका र उदयपुरको कटारी नगरपालिकामा तामाको भण्डार रहेको छ ।

बेनिघाटको धुषा, थाहाको आग्रा र कटारीको लेखानीमा रहेको तामा उत्खननका लागि लाइसेन्स खुला गरिएको हो ।

त्यसैगरी, सल्यानको कपुरकोट गाउँपालिका र धादिङको बेनिघाट रोराङ गाउँपालिकामा चुनढुंगा खानीका लागि लाइसेन्स खोलिएको छ ।

मुस्ताङको बराहगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा नुन खानीको लाइसेन्स खोलिएको छ । त्यहाँ ७० देखि ९४ प्रतिशतसम्म सोडियम क्लोराइड रहेको छ ।

मकवानपुरको थाहामा ग्रेनाइट र काओलिन र पाल्पाको निस्दी गाउँपालिकामा कोइला खानीका लागि पनि लाइसेन्स खोलिएको छ ।

इच्छुक कम्पनीले खानी तथा भूगर्भ विभागबाट ति खानीको विस्तृत तथ्यांक किन्न सक्ने सूचनामा बताइएको छ ।

चुनढुंगा, नुन र ग्रेनाइटका लागि खानीको लाइसेन्स दिन लागिएको हो भने बाँकीका लागि प्रोस्पेक्टिङ लाइसेन्स खोलिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here