खाद्य कम्पनीले बिक्री गर्‍यो १४ लाखको खाद्य सामग्री, जापानी चामलको माग बढी

काठमाडौं, ५ असार । लकडाउनको अवधिमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विद्युतीय प्रणाली (अनलाइन) बाट १३ लाख ९० हजार रुपैयाँको खाद्य सामग्री बिक्री गरेको छ ।

चैत २६ गतेदेखि असार ३ गतेसम्म ४ सय ३१ अनलाइन डेलिभरीमार्फत सो मूल्य बराबरको खाद्यान्न बिक्री गरेको कम्पनीले जनाएको छ । यस अवधिमा जापनीज चामल बढी बिक्री भएको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार रञ्जित स्टिम, सोना र जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण गरिएको छ ।

खाद्य कम्पनीले चैत २६ गतेदेखि असार ३ गतेसम्म २०६.१ क्विन्टल चामल बिक्री गरेको छ । सो चामलमध्य जापनीच चामल सबैभन्दा बढी १४१.३० क्विन्टल बिक्री भएको छ भने सोना मन्सुली चामल २५.८० क्विन्टल र रन्जित स्टिम चामल ३९ क्विन्टल बिक्री गरेको छ ।

कम्पनीले सो अवधिमा १०.७९ क्विन्टल जुम्लाको सिमी, रहरको दाल २.४५ क्विन्टल मुसुरोका दाल ३.२६ क्विन्टल र केराउ १.१० क्विन्टल आम उपभोक्ताको घरघरमै डेलिभरी गरेको छ ।

लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने लक्ष्यका साथ विद्युतीय कारोवार शुरु गरेको थियो ।

कम्पनीले चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म ७ लाख ९५ हजार मूल्य बराबरको खाद्य सामग्री बिक्री गरेको थियो । जेठ महिनामा ५ लाख ७० हजार २ सय ६७ रुपैयाँको खाद्य सामग्री बिक्री गरेको जनाएको छ ।

सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क डेलिभरी गरिने व्यवस्था समेत शुरु गरेको छ । यसअघि चक्रपथभित्र शुरु भएको सेवा अब भने चक्रपथ बाहिर पनि शुरु गरिएको जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here