१ खर्ब ८५ अर्बको लगानी स्वीकृत, वाणगंगामा स्टोरेज जलविद्युत आयोजना

काठमाडौं, ५ असार । लगानी बोर्डले १ खर्ब ८५ अर्बको लगानी स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बालुवाटारमा बसेको बैठकले पाँच जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योगका लागि सो रकम बराबरको लगानी स्विकृत गरेको हो ।

बोर्डले ३२७ मेगावाट क्षमताको अपर मस्र्याङ्दी २ जलविद्युत आयोजनाका लागि रु. ७८ अर्ब ६५ करोड रुपैयाँ, ४२.९ मेगावाट क्षमताको आँखुखोला जलविद्युतका लागि रु. ६ अर्ब ३० करोड, ५७.३ मेगावाटको म्याग्दीखोला जलविद्युतका लागि रु. १० अर्ब ३१ करोड लगानी स्विकृत गरेको छ ।

त्यसैगरी, इसुवा खोलामा बन्ने ९७.२ मेगावाट क्षमताको जलविद्युत आयोजनाका लागि रु. १३ अर्ब ५७ करोड र १६४ मेगवाटको कालीगण्डकी गर्ज जलविद्युतका लागि रु. २८ अर्ब ६ करोडको लगानी पनि स्विकृत भएको छ ।

साथै दाङ सिमेण्ट इण्डष्ट्रिज र सम्राट सिमेण्ट इण्डष्ट्रिजका लागि क्रमशः रु. ३२ अर्ब ५० करोड र रु. १५ अर्ब ५ करोड बराबरको लगानी स्विकृत गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा सञ्चालन हुन २० मेगावाटको स्टोरेज क्षमता सहितको १२५ मेगावाटका दुई सौर्य ऊर्जा परियोजनाको सार्वजनिक निजी साझेदारीमा विकास तथा सञ्चालन गर्न अध्ययन गर्ने निर्णय गरेको छ ।

ति आयोजनाको अध्ययनको जिम्मा राइजन इनर्जी सिंगापुरले पाएको छ ।

यसका साथै, कोरोनाभाइरस महामारीका कारण दमकको चिन नेपाल मैत्री औद्योगिक पार्क, मुक्तिनाथ केबल कार, मल्टिमोडल लजिस्टिक पार्क र प्राइभेट टर्मिनल एण्ड बल्क ह्याण्डलिङ फेसिलिटीको विस्तृत अध्ययन प्रतिवेदन पेश गर्ने समयावधी थप गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here